भाजपाले नेपालका राजनीतिक दलहरूसँग सम्बन्ध विस्तार गर्ने कोभिड सकिएपछि दलहरूसँग संवाद सुरु गर्छौँ : भाजपा नेता चौथाइवाले
काठमाडौ ।
भारतीय जनता पार्टीका विदेश विभाग इन्चार्ज डा. विजय चौथाइवालेले नेपालमा सबै दलहरूसँग कोभिड– १९ सकिएपछि राजनीतिक संवाद सुरु गर्ने बताएका छन् । एमाले नेता एवं अर्थमन्त्री विष्णु पौडेलको निमन्त्रणामा गत मंसिर अन्तिम साता काठमाडौं आएका चौथाइवालेले यो प्रस्ताव नेपाली राजनीतिक नेताहरूसँग राखिसकेको र उनीहरू संवादका लागि इच्छुक रहेको पनि उल्लेख गरे ।
आइतबार नेपाल इन्स्टिचुट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्जेमेन्ट नामक थिंकट्यांकद्वारा नेपाल–भारत सम्बन्धबारे आयोजित बेविनारमा भाजपा नेता चौथाइवालेले फरक वैचारिक राजनीतिक धरातल भएका भए पनि नेपाली राजनीतिक दलहरूले भाजपासँग संवाद गर्ने इच्छा व्यक्त गरेको पनि बताए । ‘नेपाल र भारतबीच राजनीतिक दलहरूको तहमा लामो समयदेखि संवाद हुन सकेको छैन । पछिल्लो नेपाल भ्रमणका वेला मैले नेपालका नेताहरूसँग छलफलमा यसबारे छलफल गरेको छु,’ चौथाइवालेले भने, ‘राजनीतिक छलफल र आदान–प्रदानले एक–अर्को मुलुकलाई बुझ्न, असमझदारी हटाउन मद्दत पुग्छ र यसले दुवै मुलुकलाई फाइदा हुन्छ । भाजपा नेपालका सबै पक्षसँग राजनीतिक संवाद गर्न चाहन्छ ।’ उनले कोभिड सकिएलगत्तै भाजपाका तर्फबाट राजनीतिक संवाद सुरु हुने पनि जानकारी दिए ।
नेपाली राजनीति भाजपा र व्यक्तिगत रूपमा आफ्ना लागि चासोको विषय भएको भन्दै चौथाइवालेले सानो राजनीतिक समूहले राजनीतिक हितका लागि भारतविरोधी भावना फैलाएको आरोप पनि लगाए । ‘नेपालमा राजनीतिक दलहरूको सानो समूह भारत आएर एउटा कुरा गर्छन्, नेपाल फर्केपछि भारतविरोधी अभिव्यक्ति दिन्छन् र भावना फौलाउँछन्,’ चौथाइवालेले कुनै व्यक्ति वा समूहको नाम नलिई भने, ‘त्यसले नेपाल–भारत सम्बन्धको समग्र पक्षमा फरक पर्दैन ।’ चौथाइवालेले भारतको विदेश नीतिमा नेपालको महत्वपूर्ण स्थान रहेको बताए । ‘हामी साझेदारी तथा सहकार्यमा अघि बढ्नुपर्छ,’ उनले भने । कुनै विषयमा दुई देशबीच हुने मतभेदले समग्र सम्बन्ध प्रभावित हुन नहुने पक्षमा भारत रहेको पनि उनको भनाइ थियो ।
भाजपासँग वैचारिक रूपमा नेपालमा राप्रपा नजिक छ । तर, राप्रपा मूलधारको राजनीतिमा छैन । नेपालका कांग्रेस, एमाले र माओवादी केन्द्रसँग वैचारिक रूपमा निकट पार्टीहरू भारतमा कमजोर हैसियतमा छन् ।
नेपालका कांग्रेस र कम्युनिस्टहरू भारतका समाजवादी विचारधाराका जनता दल युनाइटेड, कंग्रेस राष्ट्रवादी, भाकपा माक्र्सवादीलगायतसँग नजिक छन् । भाजपा नेता चौथाइवालेले वैचारिक मतभिन्नता बाबजुत पनि नेपालका सबै पक्षसँग राजनीतिक संवाद सुरु गर्ने बताए ।
अर्को प्रसंगमा नेता चौथाइवालेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको सर्वोत्तम प्राथमिकतामा नेपाल रहेको बताए । नेपाली जनताले मोदीभन्दा बढी शुभचिन्तक भारतमा अरू नपाउने पनि उनको दाबी थियो । ‘हाम्रा प्रधानमन्त्रीको प्राथमिकतामा विगतमा पनि नेपाल सर्वोत्तम स्थानमा थियो, अहिले पनि उहाँको प्राथमिकतामा नेपाल छ,’ २०७१ पछि मोदीको नेपाल भ्रमणको सन्दर्भ कोट्याउँदै उनले भने, ‘पहिलो भ्रमणमा मोदीले नेपालको संसदमा जुन अभिव्यक्ति दिनुभयो, अहिलेसम्म कुनै पनि विदेशी नेताले त्यो स्तरको नेपालमैत्री सम्बोधन गर्नुभएको थिएन ।’
भारतीय राष्ट्रिय कंग्रेस नेतृत्वको युपिए गठबन्धनले नेपाललाई प्राथमिकता नदिएका कारण करिब दुई दशक भारतबाट नेपालमा उच्चस्तरीय भ्रमण हुन नसकेको, तर मोदी सरकारमा आउनासाथ यो अवस्था भत्किएको पनि चौथाइवालेले बताए । उनको भनाइ थियो, ‘युपिए शासनले नेपाललाई प्राथमिकतामा राखेन । मोदीका लागि नेपाल हिजो पनि उच्च प्राथमिकतामा थियो, आज पनि उच्च प्राथमिकतामा छ ।’ भारत सरकारले नेपालसँग सधैँ बलियो विकास साझेदार बन्ने चाहना राखेको, नेपालका मुख्य परियोजनाहरू निर्माण गर्न र सम्बन्ध थप सुदृढ बनाउन चाहेको पनि चौथाइवालेको भनाइ थियो । ‘भारत सधैँ नेपालको निकट मित्र तथा मुख्य विकास साझेदार रहिरहनेछ,’ उनले भने ।
अर्को प्रसंगमा नेता चौथाइवालेले नेपाललाई खोपको आपूर्तिका लागि दुई देशको कूटनीतिक च्यानलमा छलफल भइरहेको पनि बताए । ‘खोपको उपलब्धता हुना साथ हामी नेपालसहित हाम्रा छिमेकीहरूलाई आपूर्ति थाल्नेछौँ,’ चौथाइवालेले भने, ‘दुई पक्षबीच भइरहेका संवादका विषयमा म जानकार छु ।’
नेपाली राजदूतहरू भन्छन्– खोप ल्याउन कूटनीतिक प्रयास जारी
भारत र अमेरिकाका लागि नेपाली राजदूतहरूले खरिद तथा अनुदानमार्फत खोप ल्याउने प्रयास जारी रहेको बताएका छन् । नेपाल इन्स्टिचुट फर इन्टरनेसनल कोअपरेसन एन्ड इन्जेमेन्ट नामक थिंकट्यांक (प्रबुद्ध मण्डल) द्वारा शुक्रबार आयोजित ग्लोबल कन्क्लेभलाई सम्बोधनका क्रममा उनीहरूले खोप तथा स्वास्थ्य सामग्रीका लागि प्रयास भइरहेको बताएका हुन् । तर, भारत र अमेरिकाबाट आउने खोपको परिमाण र समयबारे दुवैले केही बताएनन् ।
भारतका लागि राजदूत नीलाम्बर आचार्यले नेपालले खरिद गरेको १० लाख खोप आपूर्तिका लागि सहजीकरण गरिदिन भारत सरकारसँग कुराकानी भइरहेको बताए । शुक्रबार उद्योग तथा वाणिज्यमन्त्री पियूष गोयलसँग छलफल गरेका आचार्यले भने, ‘खोप आपूर्तिका लागि हामीले भारत सरकारलाई निरन्तर भन्दै आएका छौँ । ज्येष्ठ नागरिकले दोस्रो डोज खोप लगाउन नपाएको विषयमा हामीले भनेका छौँ ।’ उनले भारतसँग कालापानी, लिपुलेक तथा लिम्पियाधुराको विषयमा संवादबाट समाधान गर्नुपर्नेमा जोड दिए । उनले इपिजीको प्रतिवेदन बुझाउन पनि भारतसँग संवाद गर्नुपर्ने उल्लेख गरे ।
अमेरिकाका लागि नेपाली राजदूत डा. युवराज खतिवडाले खोप आपूर्तिका लागि अमेरिकी अधिकारीहरूसँग छलफल भइरहेको जानकारी दिए । ‘नेपाल खोप प्राप्त गर्न प्रतीक्षारत छ, जोखिमका हिसाबले पनि हामीले बढी खोप पाउनुपर्छ भनेका छौँ,’ खतिवडाले भने, ‘कोभ्याक्स मोडालिटीअन्तर्गत नेपालले पाउने हिस्सा बढी नै हुनुपर्छ भन्नेमा हामीले जोड दिँदै आएका छौँ ।’
अमेरिकाले नेपालसहितका मुलुकलाई कोभ्याक्सअन्तर्गत खोप दिने घोषणा गरे पनि कति परिमाणमा र कहिले दिने भन्ने उल्लेख छैन । भारतीय र अमेरिकी अधिकारीहरूसँग नेपाली अधिकारीले निरन्तर ताकेता गर्दै आएको राजदूतहरूले बताए ।? पर्शुराम काफ्लेकाे रिपोर्ट नया पत्रिका बाट)
3