केपी ओली ठीक बाटोमा फर्खिनुहुन्छ भने हामी माफी गर्न सक्छौँ : माधवकुमार नेपाल

सेयर गर्नुहोस


काठमाडौं ,आसार १२ ।
एमाले वरिष्ठ नेता माधवकुमार नेपालले केपी ओलीले कोर्स करेक्सन गर्छन् भन्ने आशा नरहेको बताएका छन् । सम्पादकहरूसँगको छलफलमा ओलीले कोर्स करेक्सन गरेमा स्वागत गर्ने बताएका नेता नेपालले शनिबार राजनीतिक बिटमा काम गर्ने पत्रकारहरूसँग छलफलपछि आफूलाई त्यस्तो विश्वास नरहेको बताए ।

‘केपी ओली ठीक बाटोमा फर्खिनुहुन्छ भने हामी माफी गर्न सक्छौँ । हुन त मलाई विश्वास छैन । म प्रस्ट छु, बालुवा पेलेर तेल निस्किँदैन । साथीहरूलाई अझै पनि लागिरहेको छ, तै निस्किहाल्छ कि तर बालुवा पेलेर तेल निस्किनेवाला छैन,’ उनले भने ।

तपाईं प्रधानमन्त्री पद पाएपछि गठबन्धनबाट बाहिरिने हो कि ? भन्ने पत्रकारहरूको प्रश्नमा नेता नेपालले अहिलेको संघर्ष प्रधानमन्त्री पदका लागि मात्रै नभएको चर्चा गरे । ‘हामीले उठाएको आवाज पदका लागि होइन, यो लोकतान्त्रिक आवाज हो, क्रान्तिकारी आवाज हो । लोकतन्त्र, देश र जनताको रक्षाका लागि संविधान र संघीयता जोगाउनका लागि उब्जिएको आवाज हो,’ उनले भने, ‘प्रधानमन्त्री पद दिए मिल्ने हो कि ? भनेर शंका गर्नुपर्दैन ।’

नेता नेपालले ओलीको खराब प्रवृत्तिबाट आफू, राजनीतिक पार्टीहरू र देशै हैरान भइसकेको बताए । ‘यो प्रवृत्तिको विरुद्धको लडाइँ हो । उहाँको प्रवृत्तिबाट म मात्रै होइन, अब त राजनीतिक पार्टीहरू पनि हैरान भइसके । जनता हैरान भइसके । देशै हैरान भइसक्यो,’ उनले भने । साभारः नयाँ पत्रिका

Facebook Comments Box