१४ बैशाख २०८१, शुक्रबार

मधेशमा सांस्कृतिक पर्यटनको प्रचुर सम्भावना

विश्वमा पर्यटन व्यवसायको दायरा दिनप्रतिदिन फराकिलो हुँदै गइरहेको छ । मुलुकको आर्थिक विकासको मेरूदण्डको रूपमा स्थापित हुँदै गएको पर्यटन क्षेत्रप्रति चासो र चेतना पनि त्यति बढदै जानु स्वाभाविक नै हो ।

नेपालको सन्दर्भमा अहिलेसम्म ‘भिजिट नेपाल’ भन्नाले नेपालको हिमाली, पहाडी क्षेत्रका केही गन्तव्यलाई मात्रै व्याख्या गरिदै आएको छ र सोही अनुसार काठमाडांैले नीति र कार्यक्रम केन्द्रित गरिरहेको छ । ‘भिजिट नेपाल’ अभियान करिव बीस वर्षदेखि जारी रहे पनि तराई मधेशले त्यसको अनुभूति प्राप्त गर्न सकेको छैन ।

अन्य क्षेत्र झैं राज्यले तराई मधेशको पर्यटन प्रवद्र्धनको क्षेत्रमा पनि सन्तुलित निति रहेको छैन । तराई मधेशमा पर्यटनको प्रचुर सम्भावना रहेको छ । तराई मधेशको फरक मौसम, फरक हावापानीले यहाँ पर्यटकले नेपालको हिमाली पहाडी भूगोल भन्दा फरक अनुभूति गर्ने सक्छन् ।

तराई मधेशको संस्कृति, पहिरन, रीतिरिवाज, चाडपर्व, खानपानले पर्यटकहरूको नेपाल भ्रमणको यात्रा र अवधिलाई लम्ब्याउन मद्दत गर्छ ।

भारतसंग जोडिएको करिब अठार सय किलोमिटरको खुला सिमाना ‘गेटवे टु नेपाल’ पनि भारतीय पर्यटकलाई नेपालमा ल्याउन मद्दत गरिरहेको हुन्छ । यदि यो भारतीय पर्यटकको लागि पनि पर्यटन मैत्री वातावरण निर्माण भयो, अतिथि देवो भवःको भावनाको विकास भयो भने यसको क्रम र संख्यामा उल्लेख्य वृद्धि गर्न सकिन्छ ।

तराई मधेशमा धार्मिक पर्यटनको गन्तव्यः

प्रदेश नम्वर २ को बराहक्षेत्र, सप्तरीको छिन्नमस्ता भगवती, सिरहाको सलहेस, जनकपुरधामको जानकी मन्दिर, जलेश्वरनाथ मन्दिर, रौतहटको शिवनगर, बाराको गढिमाई हुँदै पर्साको गहवा माई तथा दुग्धेश्वर महादेव (भाथा बाबा) तथा नवलपुरको सिजि टेम्पललाई जोडेर धार्मिक पर्यटन सर्किट निर्माण गर्न सकियो भने यसले पर्यटनको क्षेत्रमा युगान्तकारी टेवा पुग्न सक्छ ।साथै अन्तर प्रादेशिक सम्बन्ध पनि प्रगाढ हुँदै जान्छ ।

त्यस्तै पश्चिमी तराईमा पनि अनेकौं धार्मिक पर्यटनका सम्भावनाहरूलाई प्रवद्र्धन गर्दै जानु पर्छ र यस्ता सर्किटहरूमा जोडिनुपर्छ ।
तराई मधेशमा प्राकृतिक र ऐतिहासिक धरोहरहरूले पनि पर्यटकहरूको आकर्षकको केन्द्र विन्दु बन्न सक्छ ।

झापाको ताल तलैयाहरू, राजवन्शी समुदायको रहनसहन, मोरङको सिमासार, सुनसरीको मनोरम एवं सफा वातावरणले पर्यटकलाई लोभ्याउने ग्यारेन्टी छ ।

त्यसैगरी सप्तरीको स्व.गजेन्द्र नारायण सिंहको समाधी स्थल एवं आश्रम, सिरहाको सलहेस फुलवारी, जनकपुरधामका ऐतिहासिक एवं पुरातात्विक धरोहरहरूको महत्व, बर्दिबासको नमूना मुसहर वस्ती, सर्लाहीको नाडिमन ताल, लालबन्दीको विशेष टमाटर खेती, रौतहटको चन्द्रपुरको नमूना मुसहर वस्ती, गौरको बराहवा ताल, बाराको बारा गढी, सिम्ररौनगढ तथा पर्साको पर्सा गढी एवं घडिअर्वा पोखरी, पर्सा राष्ट्रिय निकुञ्ज, चितवनको राष्ट्रिय निकुञ्ज जस्ता गन्तव्यले पर्यटकहरूलाई आकर्षित गर्न उद्दत छ ।

त्यसै गरी पश्चिम मधेशमा रूपन्देही र कपिलवस्तुमा लुम्बिनीको विराट दायरा र महत्व, बाँकेका महत्वपूर्ण मन्दिर एवं तालहरू त्यस्तै बर्दिया राष्ट्रिय निकुञ्ज, दाङ उपत्यका, कैलालीको टीकापुर पार्क लगायत तालहरू कञ्चनपुरका शुक्लाफाँट राष्ट्रिय निकुञ्ज पर्यटनका मुख्य गन्तव्यहरू हुन ।

तराई मधेशको विशेष खानाहरूः

दालभात, रोटि, चटनी, अचार, बगिया, पुवा, फुच्का, पान, भाजा, भाका, कलैयाको सेकुवा, बरमझियाको पेडा, कटहरियाको कटियाको मासु, रौतहट राजपुरको बदमसाही, घोङी, माछा, नेपालगन्जको बिर्यानीले पर्यटकलाई फरक स्वादको अनुभूती गराउन तयार छ ।

तराई मधेशको महत्वपूर्ण चाडपर्वः

छठ, दिपावली, दशैं, फागुवा, समाचकेवा, झिझियाले उक्त पर्वहरूको सिजनमा छुट्टै रौनक छाएको हुन्छ । यस्ता पर्वहरू एवं महोत्सवहरूले पर्यटकहरूलाई रमाइलो र फरक अनुभूती गराउने छ ।

पर्यटकहरू अर्को ठाउँ वा अर्को देशमा फरक–फरक अनुभूति एवम् स्वादको लागि भ्रमणमा जाने गर्दछ्न । नेपाल भूगोलमा सानै भए पनि विविधतामा धनी र ठूलो छ । नेपाल भ्रमणमा आउनेहरू तराई मधेशमा पनि भ्रमण गर्न जरूरी छ । किन कि मधेश भ्रमण बिना नेपाल भ्रमण सफल र पूर्ण मान्न सकिदैन ।

आजैदेखि पर्यटकहरूको लागि अतिथि देवो भवःको भावनाको विकास गरिनु पर्छ । आर्थिक एवं समाजिक रूपान्तरणको लागि पर्यटन प्रवद्र्धनमा हातेमालो गरिनु पर्छ । यसबारे चेतन फैलाउनु पर्छ । सफाई र सुरक्षाको ग्यारेन्टी मात्रै दिन सक्यो भने तराई मधेशमा पर्यटन क्षेत्रको विकासले गति लिन सक्छ ।

(लेखक भिजिट मधेश नेपालका राष्ट्रिय संयोजक हुन् ।)

कपिलवस्तु टाइम्स ४ भाद्र २०७६, बुधबार १२:१८

खोज्नुहोस्

धेरै कमेन्ट गरिएका

ताजा उपडेट

सम्पादकीय

सबै हेनुर्होस