२७ भाद्र २०८१, बिहीबार

प्रदेश ५ का ११ जिल्लामा सिसिटीभी निगरानीमा

बुटवल, भदाैं ३ ।

दुर्घटना न्युनिकरण र ट्राफिक ब्यवस्थापनमा सहजता ल्याउन प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालयको आर्थिक सहयोगमा प्रदेश ५ को रोल्पा जिल्ला बाहेक ११ जिल्लामा सिसिटिभी जडान गरिएको हो ।
सवारी साधनको अत्याधिक चांप र दुर्घटनाको समेत उच्च जोखिम रहेको बुटवल नगर क्षेत्रमा जडान गरिएका ८ वटा सिसिटिभी क्यामराको ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलमा राखिएको कन्ट्रोलरुमको सोमबार प्रदेश सरकारका मुख्यमन्त्री शंकर पोखरेल ज्यूले एक कार्यक्रमका बिच उदघाटन गर्नुभयो ।
सो अवसरमा आयोजित कार्यक्रममा ५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक मधुसुदन लुइँटेलले आन्तरिक मामिला तथा कानुन मन्त्रालयले विनियोजित गरेको तीन करोड बजेटबाट ११ जिल्लामा सिसिटिभी क्यामरा जडानमा दुई करोड ६० लाख खर्च भएको र बाँकी ४० लाख रुपैयाँ मन्त्रालयमा फिर्ता पठाइएको प्रतिबेदन प्रस्तुत गर्नुभयो ।
प्रतिबेदन प्रस्तुत गर्दै प्रहरी उपरीक्षक लुइँटेलले ११ जिल्लामा १ सय ४० वटा सिसिटिभी जडान गर्नुपर्नेमा हालसम्म १ सय ५ वटामात्र जडान भएको र बुटवलमा पनि थप सिसिटिभी क्यामेरा जडान गर्न आवश्यक रहेको जानकारी गराउनु भयो ।
प्रदेशका ४५ स्थान ट्राफिक ब्यवस्थापन र दुर्घटनाका हिसावले अति सम्वेदनशील क्षेत्र भएकाले ती स्थानमा यसैवर्ष सिसिटिभी जडान गर्नुपर्ने आवश्यक्ता रहेको प्रहरी उपरीक्षक लुइँटेलले बताउनु भयो ।
सिसिटिभी क्यामेरा कन्ट्रोलरुमको उदघाटन गर्दै प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल ज्यूले ट्राफिक व्यवस्थापनसंगै सुरक्षाका दृष्टिले समेत सिसिटिभी क्यामेरा उपलव्धि मूलक हुने बताउनु भयो । उहांले क्यामेरा जडान भन्दा पनि यसको अनुगमन र मर्मत सम्भारमा बिशेष ध्यान दिन जरुरी रहेको बताउनु भयो ।
मुख्यमन्त्री पोखरेलले ट्राफिक व्यवस्थापन गर्न असहज हुने स्थान र सवारी चेकजाँच गर्ने प्वाईन्टमा सिसिटिभी जडान गर्नुपर्ने बताउँदै सो गर्न सकेमा प्रहरीमाथि जुन आरोप लाग्ने गरेको छ त्यो अन्त्य हुने उल्लेखगर्नु भयो ।
ट्राफिक व्यवस्थापन, दुर्घटनाको जानकारी, हिट एण्ड रन केशको निगरानी र अपराधी पत्ता लगाउन सिसिटिभी क्यामेरा सहयोगी हुने भन्दै मुख्यमन्त्री पोखरेलले ट्राफिक प्रहरीले सम्वेदनशील क्षेत्र भनेर किटान गरेका बाँकी ४५ स्थानमा सिसिटिभी जडानका लागि आवश्यक बजेट व्यवस्था गर्न आन्तरिक तथा कानुन मन्त्रालयलाई निर्देशन दिनुभयो ।
५ न. प्रदेश प्रहरी कार्यालय दाङ तुलसीपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक सुरेश विक्रम शाहले प्रदेशको शान्ति सुरक्षा र दुर्घटना नियन्त्रणका लागि प्रहरी प्रशासन २४ सै घण्टा संवेदनशील रहेको बताउनु भयो ।
५ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरीक्षक रामप्रकाश शाहले प्रदेशमा जोडिएका सिसिटिभीको रेकर्डिङ क्षमता ९० दिनको रहने जानकारी दिनुभयो ।

साभार- प्रदेश ट्राफिककाे फेसबुक बाल ।।

धेरै कमेन्ट गरिएका