पेट्रोलियम पदार्थ काे मूल्य किन निरन्तर बढिरहेको छ?

केही महिनादेखि नेपालमा पेट्रोलियम पदार्थको मूल्य निरन्तर उकालो लागिरहेको छ।पन्ध्र-पन्ध्र दिनको अन्तरालमा गरिने मूल्य समायोजनमा एकाध पटक मूल्य घटाइए पनि अरू बेला बढाइएको गुनासो सर्वसाधारणहरूको छ।गत वर्ष चैत १९ गते नेपाल आयल निगमको केन्द्रीय कार्यालयले पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर तोकेको थियो। त्यस बेला डीजल र मट्टितेल दुवैको प्रतिलिटर मूल्य ८५ रुपैयाँ थियो।
शनिवार गरिएको पछिल्लो मूल्य वृद्धिपश्चात् अहिले काठमाण्डूमा एक लिटर पेट्रोलको मूल्य १२५ रुपैयाँ पुगेको छ। त्यस्तै डीजलको र मट्टितेलको मूल्य प्रतिलिटर १०८ रुपैयाँ कायम गरिएको छ।
नेपाल आएको इन्धन ‘भारततिर तस्करी’
‘भारतीय भाउका कारण इन्धनको मूल्यवृद्धि’
पेट्रोलियम कारोबार गर्ने एक मात्र निकाय नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको र त्यसैअनुसार भारतमा तोकिएको मूल्य बढेकाले नेपालमा पनि मूल्य उकालो लाग्ने क्रममा रहेको जनाएको छ।
प्रत्यक्ष र परोक्ष रूपमा अर्थतन्त्रमा व्यापक प्रभाव पार्ने पेट्रोलियम पदार्थको मूल्य बढ्नु राम्रो नमानिए पनि भारतीय बजारमा भन्दा धेरै सुलभ मूल्यमा कारोबार गर्दा थेग्नै नसकिनेगरी नोक्सानी बढ्ने एक अर्थशास्त्री बताउँछन्।
कसरी तोकिन्छ मूल्य?
नेपालले इन्डियन आयल कर्पोरेशनबाट सीधै उपभोग गर्न सकिने पेट्रोलियम पदार्थको खरिद गर्ने गर्छ।
भारतीय बजारमा उपभोग हुने करिब ८५ प्रतिशत कच्चा तेल खाडीका साथै अन्य केही देशबाट आयात हुन्छ।
भारतले अन्तर्राष्ट्रिय बजारमा हुने मूल्यको घटबढका आधारमा नेपाललाई मूल्य सूची पठाउने गर्छ। अनि त्यो सूचीका आधारमा रहेर निगमले नेपाली बजारका लागि मूल्य तोक्ने गर्छ।
मूल्य निरन्तर बढ्नुको कारण के हो?
कोरोनाभाइरस महामारी सुरु हुँदा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य १९ देखि २० अमेरिकी डलर प्रतिब्यारलको हाराहारीमा झरेको थियो।
विश्वव्यापी रूपमै लकडाउनका कारण सर्वसाधारणहरू घरभित्रै बस्न बाध्य भएपछि तेलको माग निकै कम भएको बताइएको थियो।
त्यस बेला निगमले पनि प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको प्रवक्ता विनीतमणि उपाध्याय बताउँछन्।पाइपलाइन उद्घाटनपछि नेपालमा तेलको मूल्य घट्यो ।नेपालमा पेट्रोलियम पाइपलाइन थपिए के फाइदा तर क्रमिक रूपमा तेल बजार पुरानो लयमा फर्केसँगै मूल्य निरन्तर उकालो लाग्दै पछिल्ला दिनहरूमा मूल्य प्रतिब्यारल करिब ७२ डलरमा पुगेको उनको भनाइ छ।
“हामीले पनि खरिद गरेर ल्याउनुपर्ने भएकाले जुन मूल्य सूची प्राप्त गर्छौँ त्यसकै आधारमा बढाउने गरेका छौँ। पछिल्लो समय मंसिरयता करिब दुई रुपैयाँको हाराहारीमा तेलको मूल्य बढाउँदै गएको अवस्था हो,” उपाध्यायले भने। अर्थविद् केशव आचार्य पेट्रोलियम पदार्थलाई “क्रिटिकल इम्पोर्ट” अर्थात् संवेदनशील आयातका रूपमा हेरिने र यसको मूल्यमा हुने घटबढले सर्वत्र प्रभाव पार्ने उनी बताउँछन्।
“औषधिदेखि लत्ताकपडा, नुन समेतलाई यसले प्रभाव पार्छ। उपभोक्तामा पर्ने प्रत्यक्ष प्रभावभन्दा परोक्ष प्रभाव अति धेरै छ,” उनले भने।
यसले मूल्यवृद्धि मात्रै नभएर लागत नै बढाउने उनी बताउँछन्।
पेट्रोलियम पदार्थमा कस्तो छ कर?
नेपालमा पेट्रोलियम पदार्थमा लगाइएको करको दर चर्को रहेको निगमकै अधिकारीहरू स्वीकार गर्छन्।
पछिल्लो पटक निगमले ६२ रुपैयाँ ४१ पैसामा एक लिटर पेट्रोल खरिद गर्दा ५६ रुपैयाँ ३६ पैसा कर थप हुन्छ।
निगमकै प्रशासनिक खर्च त्यसमा ६८ पैसा मात्रै हुन आउने उपाध्याय बताउँछन्।
त्यसबाहेक राजस्व, भन्सार, मूल्य अभिवृद्धि कर, सडक सम्भार कर, पूर्वाधार विकास कर र वातावरण कर आदि समाविष्ट हुन्छन्।डीजलमा कर केही कम हुने उपाध्याय बताउँछन्। त्रिसट्ठी रुपैयाँ २५ पैसामा खरिद गरिने डीजलमा ३९ रुपैयाँ ३ पैसा कर लाग्छ।
त्यस्तै ६० रुपैयाँ ३ पैसामा खरिद गरिने मट्टितेलमा १९ रुपैयाँ ५० पैसा कर लाग्छ। मूल्य अभिवृद्धि लगायतका कर नलिइने हुँदा कम हुन आउँछ।
गत आर्थिक वर्षबाट लागु हुनेगरी सरकारले करको दायरा बढाएको थियो। निगमले सरकारले निर्देश गरेको कुरा पालना गर्नुपर्ने हुँदा आफूहरूले करबारे टिप्पणी गर्न नमिल्ने उपाध्यायले बताए।
काठमाण्डूका घना बस्तीमा पेट्रोल पम्प, तर स्थानान्तरण पेचिलो
इन्धन भण्डारण गर्न चिनियाँ सहयोग नलिने निगमको सङ्केत
नेपालमा पेट्रोलियम पदार्थको खपत वार्षिक रूपमा करिब १० प्रतिशतले बढ्ने अनुमान छ। तर कोभिड-१९ का कारण अहिले खपत गत वर्षकै जस्तो छ।
निगमका अनुसार पछिल्लो पटक मूल्य समायोजन गर्दा समेत उसको घाटा पेट्रोलमा ५ रुपैयाँ ३२ पैसा, डीजलमा ३ रुपैयाँ १७ पैसा र एक सिलिन्डर एलपीजीमा २५८ रुपैयाँ ४६ पैसा छ।
“अर्थात् कोभिडको समयमा हाम्रो विक्री ५० प्रतिशतले घटेको छ। यस्तो समयमा पनि हामीलाई १५ दिनमा करिब ६० करोड रूपैयाँ घाटा छ,” उनले भने।(साभार:संजीव गिरी काे
बीबीसी न्यूजमा छापिएकाे रिपोर्ट )
