नेपाल–भारत सुरक्षा बैठकमा कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आपसी सहकार्य आवश्यक

विराटनगर । नेपाल र भारतका सुरक्षा अधिकारीले विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रणका लागि आपसी सहकार्य एवं साझा प्रयास आवश्यक रहेको निष्कर्ष निकालेका छन्।
दुई देशका अधिकारीबीच आइतबार सम्पन्न भएको सुरक्षा बैठकमा कोरोनाका कारण निम्तिएको मानवीय संकटका सवालमा गम्भीर छलफल भएको छ। छलफलबाट दुई देशको साझा प्रयासबिना कोरोनाविरुद्धको लडाइँमा सफलता प्राप्त गर्न नसकिने निष्कर्ष निस्किएको छ। भर्चुअल माध्यमबाट बैठकमा सहभागिता जनाएका दुवै देशका सुरक्षा अधिकारीले कोरोना नियन्त्रण अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरेका छन्।
बैठकमा नेपालका तर्फबाट मोरङका प्रमुख जिल्ला अधिकारी कोषहरि निरौला, मोरङ प्रहरी प्रमुख एसपी सन्तोष खड्का, सशस्त्र प्रहरी प्रमुख एसपी तीर्थ पौडेल तथा सुनसरीका प्रमुख जिल्ला अधिकारी उमेश ढकाल, प्रहरी प्रमुख एसपी कमल थापा र सशस्त्र प्रहरी प्रमुख माधव पौडेल सहभागी भएका थिए।
भारतका तर्फबाट मोरङ र सुनसरीसँग सीमा जोडिएको बिहार राज्यको अररिया जिल्लाका सुरक्षा अधिकारी बैठकमा सहभागी थिए। बैठकमा भारतको तर्फबाट अररिया जिल्लाका डीएम (जिल्ला प्रमुख) प्रशान्त सी.एच र एसपी हृदयकान्त उपस्थित थिए।
नेपाल–भारत संयुक्त बैठकमा कोरोना नियन्त्रणका सवालमा देखिएका समस्या र चुनौतीका विषयलाई लिएर गहन छलफल भएको बताइएको छ। सुरक्षा स्रोतका अनुसार बैठकमा कोरोना थप फैलन नदिन दुई देशीय सीमा नाकामा थप कडाइ गर्ने, सीमा क्षेत्रबाट भइरहेको आवतजावतलाई पूर्ण रुपमा नियन्त्रणमा लिएर शून्यमा झार्ने, कोरोना नियन्त्रणका लागि आपसी सहयोग र सहकार्यलाई कायम राख्दै साझा प्रयासमा जोड दिने, आवश्यकता अनुसार सूचना आदानप्रदान गर्ने, सीमा कडाइलाई यथावन राख्ने लगायतका विषयमा सहमति भएको छ।
बैठकमा कोरोनाका कारण भइरहेको क्षतिका बारेमा दुवै देशका अधिकारीले चिन्ता व्यक्त गरेका छन्। दुई देशबीच आपसी सहयोग एवं सहकार्यबिना महामारीको रूप लिएको कोरोना नियन्त्रण मुस्किल पर्ने र नियन्त्रणका लागि गरिएका प्रयासहरु सफल नहुने तथा खुला सीमा कोरोना नियन्त्रणको मुख्य चुनौती रहेको निष्कर्ष अधिकारीले निकालेका छन्।
भारत पछिल्लो समय कोरोना भाइरस महामारीका कारण विश्वमा अति नै प्रभावित बनिरहेको मुलुक हो। त्यसको प्रभाव बिहार राज्यको अररिया जिल्लामा पनि परिरहेको छ। भारतमा पछिल्लो समय दैनिक एक लाख १५ हजारभन्दा बढी संक्रमित थपिने गरेका छन्। एक दिनमा दुई हजार पाँच सयभन्दा बढीको मृत्यु कोरोनाका कारण भइरहेको विभिन्न तथ्यांकले देखाएका छन्।
दोस्रो भेरियन्ट सुरु भएपछि केही समय अघिसम्म भारतमा दैनिक चार लाखभन्दा बढी संक्रमित थपिने गरेका थिए। एक दिनमा चार हजारभन्दा बढीको मृत्यु हुने गरेको थियो। पछिल्लो समय कोरोना नियन्त्रणमा केही हदसम्म सफलता हात पारिरहे पनि भारतमा दैनिक एक लाख १५ हजारभन्दा बढी संक्रमित थपिने गरेका छन्।
बैठकमा दुई देशका अधिकारीले अन्तरदेशीय अपराध नियन्त्रणलाई प्राथमिकतामा राखेर काम गर्ने प्रतिवद्धता पनि जनाएका छन्। सीमा क्षेत्रमा हुने अवैध गतिविधि, सीमा अपराध, मानव तस्करी, लागुऔषध, हतियार र मदिराको ओसारपसार लगायत मानवताविरुद्धका सबै अपराध नियन्त्रण तथा सीमा व्यवस्थापनमा साझा प्रतिवद्धता बैठकमा जनाइएको हो।
सबै खाले अपराध नियन्त्रणमा एकले अर्कालाई सहयोग गर्दै आवश्यक समन्वय र सहकार्यमा जोड दिइएको स्रोतले बतायो। त्यस्तै बर्खाका समयमा हुनसक्ने सम्भावित बाढी र डुबानका कारण उत्पन्न हुने समस्या समाधानका लागि पनि सहयोग अदानप्रदान एवं सहकार्य गर्ने प्रतिवद्धता अधिकारीहरुले गरेका छन्।
‘कोरोना महामारी र सीमा अपराध नियन्त्रण तथा बर्खाका समयमा सम्भावित बाढी एवं डुबानबाट हुनसक्ने क्षति न्यूनीकरणका लागि द्विपक्षीय सहमति बैठकमा भएको छ,’ एक सुरक्षा अधिकारीले भने, ‘त्यसका लागि सधैँ सहकार्य र साझा प्रयासमा जोड दिइएको छ।’
बर्खामा हुने बाढी र डुबानको समस्या समाधान गर्न तयारीमा जुट्ने प्रतिवद्धता पनि बैठकमा जनाइएको छ। अन्नपूर्ण पाेष्ट
