ओली सरकारले तराई मधेस मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र गरेकाे: देउवा

सेयर गर्नुहोस


काठमाडौँ — नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले देशको तराई मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र भएको बताएका छन् ।
बुधबार विज्ञप्ति जारी गर्दै देउवाले गिट्टी बालुवा निर्यात गरेर व्यापार घाटा कम गर्ने सरकारको नीति तराई–मधेसलाई मरुभूमि बनाउने षड्यन्त्र भएको बताएका हुन् ।
‘विगतमा चुरे क्षेत्रबाट ढुंगा, गिटी, बालुवा उत्खनन गरिँदा त्यसले पानीका स्रोतहरु सुक्न थालेको, भू–क्षय बढेको र समग्रमा पर्यावरणलाई गम्भीर असर परेको अध्ययन विश्लेषण गरिएका हुन्,’ देउवाले भनेका छन्, ‘विगतका गल्ती सच्याएर अघि बढ्न निश्चित गरिएको नीतिलाई विस्थापित गरेर पुनः दोहनलाई प्रोत्साहन सामान्य गल्ती होइन, प्रकृतिविरुद्धको अपराध र देशको तराई मधेस क्षेत्रलाई भविष्यमा मरुभूमिकरण गर्ने गम्भीर षड्यन्त्र हो ।’

देउवाले चुरे दोहन गरेर ‘ब्यापार घाटा न्यून गर्ने’ नारा खरानीको व्यापार गर्न घर जलाए जस्तै भएको उल्लेख गरेका छन् । ‘निश्चय नै देशले बर्षौंदेखि व्यापार घाटा व्यहोरिरहेको छ तर त्यसलाई न्यून गर्न या सन्तुलनमा ल्याउन तराई मधेस र समग्र देशलाई नै दीर्घकालीन असर पर्ने कदम चाल्नु किमार्थ स्वीकार्य हुन सक्दैन र त्यो नै उचित विकल्प होइन,’ विज्ञप्तिमा छ ।
राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम फिर्ता लिन देउवाले सरकारलाई चेतावनीसमेत दिएका छन् ।

‘नेपाली कांग्रेस ढुंगा, गिटी, बालुवा निकासी गर्नेगरि हचुवाका भरमा बजेटमा नीतिगत भ्रष्टाचार गर्दै ल्याइएको राष्ट्रका लागि दूरगामी घातको कार्यक्रम फिर्ता लिन सरकारलाई चेतावनी दिन चाहन्छ,’ उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ । कान्तिपुर

Facebook Comments Box