भारतकाे आलुमा निर्भर हिमाली जिल्ला

सेयर गर्नुहोस
फाइल तस्बिर

ताप्लेजुङ । आलु खेतीका लागि प्रख्यात मानिने हिमाली जिल्लामा नै यतिबेला भारतको आलुमा निर्भर हुनुपरेको छ । उत्पादन घटेर तरकारीकै समस्या आइपरेपछि बाहिरबाट मगाउनु परेको स्थानीयले बताएका छन् ।
तरकारी अभाव भएपछि फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाका तेन्जिङ वालुङले हालै सदरमुकाम फुङलिङबाट आलु मगाए । लेलेपको इलाडाँडासम्म गाडी र त्यहाँबाट खच्चडमा लगिएको आलु भारतको बिहारबाट आएको उनले बताए । भारतीय आलुका बोरा यतिबेला हिमाली गाउँगाउँ पुगेको छ ।
कञ्चनजंघा हिमालको बेसक्याम्पमा रहेको घुन्सा पुगेको उक्त आलु स्थानीय आलुभन्दा खल्लो लागेको स्थानीयको अनुभव छ । ओलाङचुङगोला र घुन्सामा आलु उत्पादन केन्द्र नै भए पनि भारतीय आलुले पहिलो पटक प्रवेश पाएको हो ।

हिमाली बस्ती नजिकका खेतीमा जौ, गहुँ र आलु मात्रै उत्पादन हुँदै आएका थिए । फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोलाको याङमामा उत्पादित आलुले हिमाली मात्रै नभएर फक्ताङलुङ गाउँपालिकाको तल्लो बस्तीसम्म पनि धान्दै आएको थियो । तर यस वर्ष याङमाको आलु उत्पादनमा ह्रास आएका कारण भारतको आलु भित्रिएको तेन्जिङ बताउँछन् ।

‘८० मुरी उत्पादन गर्नेकोमा यो वर्ष १५/२० मुरी मात्रै उत्पादन भयो,’ तेन्जिङले थपे, ‘उत्पादित आलु बीउकै लागि ठिक्क हुने भएपछि धेरैलाई तरकारीका लागि भारतको आलु ल्याउनुपर्ने बाध्यता भएछ ।’ आगन्तुकका लागि यसअघि पनि इलामदेखिको आलु ल्याएको घुन्साका डन्डु बताउँछन् ।

पहिलाको जस्तो उत्पादन हुन छोडेकाले बाहिराबाट आलु ल्याउनु परेको वडा ७ का वडाध्यक्ष छेतेन शेर्पा भोटे बताउँछन् । ‘यति धेरै उत्पादन घटेकोमा हामी पनि चिन्तित छौं,’ भोटेले भने, ‘अब बाहिरबाट गुणस्तरीय बीउ ल्याउने र माटो परीक्षण गराएर नयाँ जातको आलु लगाउने प्रयासमा छौं ।’

फक्ताङलुङ गाउँपालिकाका प्रवक्ता छेतेन वालुङ विशेषज्ञको टोली ल्याएर माटो र आलु दुवै परीक्षण गर्ने विषयमा छलफल भइरहेको बताउँछन् । ‘म पनि गोलाको हो, हाम्रो याङमाको मुख्य बाली आलु हो, तर उत्पादन नै हुन छोडेको छ,’ छेतेनले थपे, ‘यसले गाउँलेलाई निराश बनाएको छ । अब यसमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको छ ।’

माटोको उर्बराशक्ति घटेको, एउटै जातको बीउ वर्षौंदेखि लगाइएको र हावापानी परिवर्तन भएका कारण उत्पादन घटेको हुन सक्ने स्थानीयको बुझाइ छ । तर आफ्नै पहुँचले यसमा परिवर्तन गर्न नसकेका कारण परम्परागत खेतीलाई नै निरन्तरता दिनुपरेको स्थानिय किसानको बुझाइ रहेकाे कान्तिपुरमा खबर छ ।

जिल्लाका हिमाली बस्तीहरू ओलाङचुङगोला, याङमा, घुन्सा, खम्बाछेन, फले, ग्याब्लामा आलुको खेती हुने गरेको छ । घुन्साका बासिन्दा हिउँदमा हिउँ छल्न र आलु खेती गर्न फले झर्ने गरेका थिए ।

तत्कालीन जिल्ला कृषि विकास कार्यालयदेखि गाउँपालिकासम्म आफूहरूको समस्या थाहा पाएर पनि कसैले वास्ता नगरेको हिमाली बताउँछन् । सामान्य परीक्षण गरेर यसको समाधान नहुने डन्डु बताउँछन् । यसका लागि हरेक गाउँ र टोलमा विज्ञको टोली पठाएर केही समय राखेर अध्ययन गर्नुपर्ने उनको तर्क छ ।

Facebook Comments Box