नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै बलियो रहेकाे भनी काेराेनालाई हल्का लिने प्रधानमन्त्री ओलीले गल्ती स्विकार गरे
काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालमा अहिलेको जसरी कोरोना भाइरस (कोभिड- १९) को संक्रमण फैलिएला भन्ने आफूलाई नलागेको बताएका छन् । कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को आइतबार सिंहदरबारमा बसेको बैठकलाई सम्बोधन गर्दैं ओलीले नेपालीको रोग प्रतिरोधात्मक क्षमता धेरै बलियो रहेकाले यो संक्रमण फैलिँदैन भन्ने आफूलाई लागेको बताएका हुन् ।
‘यस रुपमा नेपालमा कोभिड बढ्छ भन्ने मैले ठानेको थिइनँ । मैले के ठानेको थिएँ भने हाम्रो इम्युन सिस्टम (रोग प्रतिरोधात्मक प्रणाली) धेरै स्ट्रोङ छ, त्यसकारण हाम्रोमा अलिअलि सर्ला तर यस तहमा चाहिँ वृद्धि हुन सक्दैन भन्ने लाग्या थियो,’ प्रधानमन्त्री ओलीको भनाइ थियो ।
कोरोनाको दोस्रो लहर चलिरहेको नेपालमा दैनिक करिब ९ हजार व्यक्तिमा संक्रमण देखा परिरहेको छ । पछिल्लो समय दैनिक २ सयभन्दा बढीले कोरोना संक्रमणबाट ज्यान गुमाइरहेका छन् । कतिपयले अक्सिजन पाउन नसकेर ज्यान गुमाउनुपरेको छ ।
यस्तो अवस्थातर्फ इंगित गर्दै प्रधानमन्त्रीले कोरोनाले नेपालमा यस तहको प्रभाव पार्ने आफूले नठानेको बताएका हुन् । उनले गत वर्ष कोरोनाको पहिलो लहर चल्दा संसद्देखि सार्वजनिक मन्तव्यमा नेपालीमा रोग प्रतिरोधात्मक क्षमता बलियो भएकाले धेरै प्रभाव नपर्ने दाबी गर्दै आएका थिए । त्यस्तै, बेसार पानी, अम्बाको पात उमालेर ‘गार्गल’ गर्दा कोरोना निको हुन्छ भन्ने भनाइ उनले पटक पटक दोहोर्याएका थिए । उनले नेपालीले हिमालबाट बग्ने जडिबुटी पखालेर आएको औषधीय गुण भएको पानी पिउने भएकाले पनि कोरोनाले प्रभाव नपार्ने मन्तव्य संसद्मा नै दिएका थिए ।
अहिले आएर प्रधानमन्त्री ओलीले कोरोनाले यसरी प्रभाव पार्ला भन्ने आफूलाई नलागेको अभिव्यक्ति दिएका हुन् । कोरोना संक्रमणबाट मुक्त हुनुमा रोग प्रतिरोधात्मक प्रणाली बलियो हुनु नै रहेको ओलीले दोहोर्याएका छन् । ‘जति मान्छे निको भएका छन् त्यसमा पनि इम्युन सिस्टमको भूमिका छ,’ उनले भने ।
कोरोना संक्रमण नियन्त्रणमा विभिन्न सरकारी निकायबीच समन्वयको अभाव देखिएको प्रधानमन्त्री ओलीले स्वीकारेका छन् । आगामी दिनमा त्यसमा सुधार गरिने पनि उनले बताएका छन् । ‘सरकारको तर्फबाट कोअर्डिनेसनको अभाव देखियो । त्यसकारण कोअर्डिनेसनको प्रभावकारी व्यवस्था गरिनेछ । कुनै पनि क्षेत्रमा कोअर्डिनेसन गरिनेछ,’ उनले भने ।
पछिल्लो समय कोरोना संक्रमितलाई अक्सिजन पुर्याउन समस्या रहेको ओलीले बताए । ‘यतिबेलाको सबैभन्दा जल्दोबल्दो समस्या अक्सिजनको देखिएको छ । अक्सिजन पर्याप्त मात्रामा उत्पादन या आयात गर्नुपर्छ । जसरी हो गर्नुपर्छ । सबै प्लान्टलाई म्याक्सिमम क्षमतामा सुचारु गर्नुपर्छ,’ ओलीले भने ।नेपालमा रहेका अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा सञ्चालन गर्नुपर्ने र बाँकी आयात गर्नुपर्ने ओलीको भनाइ थियो ।
सीसीएमसीको नेतृत्व उपप्रधानमन्त्री ईश्वर पोखरेलले गर्दै आएकोमा आइतबार भने प्रधानमन्त्रीले त्यसको अध्यक्षता गरेका हुन् । सीसीएमसीको बैठकले कोरोना संक्रमितको उपचार तथा कोरोना संक्रमण रोकथामका लागि अत्यावश्यक सामग्रीको आपूर्तिमा तदारुकताका साथ लाग्न सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।इकान्तिपुर
