२२ भाद्र २०८१, शनिबार

सुकुम्बासीका नाममा एक हजार परिवारको बसोबास  

पूर्णप्रसाद मिश्र काठमाडौँ,मंसिर ११

वाग्मती तथा विष्णुमती नदी किनार अतिक्रमण गरी एक हजार ४६५ परिवारले अव्यवस्थित बसोबास गरेका छन् ।

विसं २०४७ देखि सुकुम्बासीका नाममा काठमाडौँ उपत्यकाका नदी किनार अतिक्रमण गर्न सुरु भएको अधिकारसम्पन्न वाग्मती सभ्यता एकीकृत विकास समितिले जनाएको छ । जनआन्दोलन २०६२÷६३ पछि नदी अतिक्रमण वृद्धि भएको समितिको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

समितिले गरेको अध्ययनानुसार सिनामङ्गल पुलमाथिको वाग्मती नदी किनारमा छ, सिनामङ्गल पुलमुनिको वाग्मती नदी किनारमा आठ, सिनामङ्गलको गुह्येश्वरी विद्यालय नजिक ४०, सिनामङ्गल गैरीगाउँमा ६०, सिनामङ्गल जागृतिनगरमा २००, नयाँ बानेश्वर शान्तिनगरमा ४००, शङ्खमूलमा १००, थापाथलीमा १०८ र बल्खुमा ३१८ परिवारले किनारको जग्गा सुकुम्बासीका नाममा अतिक्रमण गरेका छन् ।

यसैगरी विष्णुमती नदी किनारको महादेव खोलामा ७० र बालाजु क्षेत्रमा १५५ परिवारले नदी किनार अतिक्रमण गरेका छन् । अतिक्रमणलाई राजनीतिक संरक्षण दिई राज्यका सम्बन्धित निकायबाट बिजुली र पानीको लाइन एवम् मतदानको अधिकार प्रदान गरी आधिकारिकता दिइएको समितिका वरिष्ठ समाजशास्त्री भरत आचार्यले बताए।

“नदीको जग्गा अतिक्रमण गरिँदा सरसफाइ, वृक्षरोपण तथा नदी सौन्दर्यका काम र नदी किनारको भौतिक निर्माण (रिभर ट्रेनिङ), ढल पाइप बिच्छ्याउने एवम् दुवै किनारामा सडक निर्माणमा गम्भीर असर परी सुधारको कार्य अवरुद्ध भएको छ”– उनले भने।

यसबाट राज्यले लिएको नदी प्रणाली जीवन्त बनाउने र उपत्यकाको समग्र सौन्दर्यको काममा बाधा पुगेको समितिको ठहर छ । यसले गर्दा निर्माण कम्पनीलाई करोडौँ हर्जाना तिर्नुपरेको आयोजनाको भनाइ छ । सरोकार भएका निकाय, राजनीतिक दल र नागरिक समाजले सो समस्या समाधान गर्ने विषयमा समान धारणा निर्माणका लागि पहल सुरु गरिएको आयोजना प्रमुख राजेशप्रसाद सिंहले बताए।

धेरै कमेन्ट गरिएका

ताजा उपडेट