सीताराम चौधरी, चन्द्रौटा(कपिलवस्तु), १० मंसिर । “कृषि, पर्यटन उद्योग र व्यापार, आर्थिक समृद्धिको मूल आधार” भन्ने मुख्य नारासहित संचालित चन्द्रौटा महोत्सवमा दर्शकहरुको उल्लासपूर्ण सहभागिता रहेको छ । महोत्सवको नवौं दिन शुक्रबार १५ हजार दर्शकले मेलाको अवलोकन गरेको आर्थिक व्यवस्थापन उपसमिति संयोजक दिपक पौडेलले जानकारी दिनुभयो । शुक्रबार मात्र ६० लाख बढीको कारोबार भएको पौडेलको दाबी छ । स्टेज प्राङ्गण, विभिन्न सामग्रीका स्टल, बालउद्यान, होटल तथा टिकट विक्री कक्ष अगाडि दर्शकहरुको उस्तै भीडभाड थियो । महोत्सव सकिनै लाग्दा गाउँ गाउँबाट मेला अवलोकन तथा सामान खरीद गर्न आउनेको घुइँचो लाग्न थालेको सचिवालय व्यवस्थापन उपसमिति संयोजक जगत पौडेलले बताउनुभयो ।
मंसिर २ गतेदेखि संचालन भएको महोत्सव १२ गतेसम्म चल्नेछ । ख्यातीप्राप्त राष्ट्रिय कलाकार, काठमाडौंको हरिडान्स ग्रुप, छमछमी कलाकेन्द्र तथा स्थानीय कलाकारहरुले महोत्सवको स्टेज तताएका छन् । नवौं दिन आधुनिक गाएक प्रमोद खरेल, नविन पौडेल हास्य कलाकार शुरबिर पण्ति ‘दारी बा’, पल्पसा डंगोल ‘चम्सुरी’, दिपक गरौजा मगरको प्रस्तुतिले दर्शकलाई आकर्षित पारेको सांस्कृतिक संयोजक अर्जुन सापकोटाले जानकारी दिनुभयो । मेलाको दशौं दिन कोमल वली, जितु नेपाल, शिरीष देवकोटा, ऋतु कँडेल, धन बहादुर गुरूङ लगायतको विशेष प्रस्तुति रहने सांस्कृतिक उपसमितिका सहसंयोजक श्रीजन पोखरेलले बताउनु भएको छ । महोत्सवको एघारौं दिन चर्चित राष्ट्रिय लोक गायिका ज्योति मगर, थारु गायक श्रीनिवास चौधरी र लोकदोहारी गायक दीपक भण्डारीको विशेष प्रस्तुति रहने पोखरेलले जनाउनुभयो । दशौं दिन शनिबार परेकाले पनि २० हजार बढी दर्शकहरु महोत्सवस्थलमा भित्रिने अपेक्षा रहेको आयोजकको दाबी छ ।
कपिलवस्तुको बहादुरगन्जमा रहेको सर्पदंश उपचार केन्द्रलाई आर्थिक सहयोग र जिल्लाका पश्चिमी क्षेत्रका धार्मिक तथा पर्यटकीय स्थलहरुको प्रबद्र्धन, प्रचारप्रसारका साथै स्थानीय कृषि एवं घरेलु उद्योग उत्पादनको बजारीकरण गर्ने उद्धेश्यका साथ महोत्सव संचालन गरिएको आयोजक संस्था व्यापार संघका अध्यक्ष एवं मेला मूल आयोजक समिति संयोजक महादेव पोखरेलले बताउनुभयो ।
3