अस्पतालमा बेड नभएका भनाईप्रति कांग्रेसकाे आपत्ति

सेयर गर्नुहोस

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अस्पतालमा शय्या (बेड) उपलब्ध गराउन नसकिने भइसकेको सरकारको सार्वजनिक वक्तव्यप्रति आपत्ति जनाएको छ ।

संकटमा अपिल गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुनुपर्ने कांग्रेसले स्मरण गराएको छ ।
कांग्रेस प्रवक्ता विश्वप्रकाश शर्माले शनिवार एक विज्ञप्ति प्रकाशित गरी संकटमा राज्य हतास होइन नागरिकलाई ढाडस बन्नुपर्नेतर्फ प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन् । शुक्रवार स्वास्थ्य मन्त्रालयले अस्पतालमा बेडहरू नरहेको भन्दै सावधानी अपनाउन अपिल गरेको थियो ।

‘स्थितिको संवेदनशीलता दृष्टिगत गरेर नागरिकलाई गम्भीर बन्न राज्यले अपिल गर्नु स्वाभाविक र आवश्यक हो । तर संकटमा अपिल गरिरहँदा हतास र त्रास होइन विश्वास प्रवाह गर्नु जिम्मेवार सरकारको कर्तव्य हुन्छ । तर ‘अस्पतालमा शय्या उपलब्ध गराउन नसकिने भइसकेको’ सार्वजनिक वक्तव्यले सरकारको लाचारी मात्रै होइन गैरजिम्मेवार प्रवृत्ति पनि पुष्टि गरेको छ,’ प्रवक्ता शर्माले विज्ञप्तिमा भनेका छन् ।

नेपाली कांग्रेसले समयको सदुपयोग गरेर पर्याप्त तयारी नगर्ने अहिले आएर बेड छैन, भेन्टिलेटर, अक्सिजन आदि पर्याप्त छैन भनेर निरीहता प्रस्तुत गर्ने अधिकार सरकारलाई नभएको बताएको छ ।

‘नेपाली कांग्रेस लाचार अभिव्यक्ति बन्द गरेर युद्धस्तरमा कार्य गर्न र कोरोना विरुद्धको संघर्षमा राज्यको क्षमता विस्तार गर्न सरकारलाई अपिल गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।

कांग्रेसले निजी क्षेत्रका अस्पताललाई कोरोना विरुद्धको संघर्षमा बृहत्तर सहकार्य गरेर अघि बढ्न सरकारलाई सम्झाएको छ ।

‘संकटका बेला हरेक नागरिकको अभिभावक राज्य हुन्छ । बेडको अभाव हुन थाल्यो भने अभावको गीत गाएर त्यो अभिभावकत्व पूरा हुन सक्दैन । नेपाली कांग्रेस परिस्थितिको गम्भीरता बमोजिम मनस्थितिको गम्भीरता राखेर कार्य गर्न सरकारलाई सजग गराउन चाहन्छ,’ विज्ञप्तिमा भनिएको छ ।

यसअघि शुक्रवार कांग्रेस सभापति शेरबहादुर देउवाले पत्रकार सम्मेलन गरी कोरोना संक्रमणको नियन्त्रणका लागि प्रभावकारी कदम चाल्न सरकारको ध्यानाकर्षण गराएका थिए ।

Facebook Comments Box