सीमित स्रोतसाधनबीच उल्लेखनीय सफलता हासिल गर्दै श्री मा.वि. गोविन्दपुर झिरहरी

सेयर गर्नुहोस

लहान, जेष्ठ ७ । सिरहा जिल्लाको लहान नगरपालिका वडा न. १७ स्थित रहेको श्री मा.वि. गोविन्दपुर झिरहरीका प्रधानाध्यापक नारायण साहले विद्यालयको शैक्षिक तथा भौतिक विकासमा उल्लेखनीय सफलता हासिल गरेका छन्। सीमित स्रोतसाधन, कमजोर आर्थिक अवस्था तथा विभिन्न चुनौतीका बाबजुद विद्यालयलाई गुणस्तरीय शिक्षाको केन्द्रका रूपमा स्थापित गर्न उनले महत्वपूर्ण भूमिका निर्वाह गरेका हुन्।
वि.सं. २०७५ साल चैत्र महिनादेखि विद्यालयको प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका नारायण साहका अनुसार त्यसबेला विद्यालयको अवस्था निकै चुनौतीपूर्ण थियो। विद्यालयमा करिब ५०० जना विद्यार्थी अध्ययनरत भए पनि आयस्रोत लगभग शून्य बराबर रहेको उनले बताए। विद्यालयको भौतिक अवस्था, व्यवस्थापन तथा शैक्षिक गुणस्तर सुधार गर्नु त्यतिबेला सबैभन्दा ठूलो चुनौतीका रूपमा रहेको उनको भनाइ छ।
प्रधानाध्यापक साहले सीमित स्रोतसाधनका बीच पनि विद्यालयलाई प्रगतितर्फ लैजान दृढ अठोटका साथ काम सुरु गरेको बताए। उनले शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीय समुदायको सहयोगमा विद्यालयको शैक्षिक वातावरण सुधार गर्दै नियमित पठनपाठन, अनुशासन र व्यवस्थापनलाई प्राथमिकतामा राखेर कार्य अघि बढाइएको जानकारी दिए।
हाल विद्यालयमा १३ जना शिक्षक–शिक्षिकाको टोली कार्यरत रहेको छ। विद्यालयमा माध्यमिक तहमा १ जना, निम्न माध्यमिक तहमा ४ जना तथा प्राथमिक तहमा ५ जना शिक्षक दरबन्दी रहेका छन्। त्यस्तै १ जना लेखापाल, १ जना ECD शिक्षक तथा १ जना कार्यालय सहयोगीले विद्यालयको प्रशासनिक तथा शैक्षिक व्यवस्थापनमा सहयोग पुर्यातइरहेका छन्।
प्रधानाध्यापक साहका अनुसार विद्यालयको गुणस्तर सुधारका लागि शिक्षकहरूको सामूहिक मेहनत, विद्यार्थीहरूको लगनशीलता तथा अभिभावकको निरन्तर सहयोगले महत्वपूर्ण भूमिका खेलेको छ। उनले विद्यालयलाई केवल औपचारिक शिक्षामा सीमित नराखी अनुशासित, प्रतिस्पर्धी र व्यवहारिक शिक्षामा जोड दिइएको बताए।
विद्यालयले पछिल्लो समय प्राप्त गरेको SEE २०८२ को नतिजाले पनि विद्यालयको प्रगति स्पष्ट देखाएको छ। यस वर्ष विद्यालयबाट SEE परीक्षामा सहभागी ६६ जना विद्यार्थीमध्ये ५७ जना उत्तीर्ण भएका छन्। नतिजाअनुसार १ जना विद्यार्थीले ४ GPA प्राप्त गरेका छन् भने १७ जनाले A+, ३२ जनाले A, ६ जनाले B+ र १ जनाले B ग्रेड हासिल गरेका छन्। सामुदायिक विद्यालयका लागि यो उपलब्धि निकै उत्साहजनक मानिएको छ।
प्रधानाध्यापक नारायण साहले आगामी दिनमा विद्यालयलाई अझ व्यवस्थित, प्रविधिमैत्री तथा गुणस्तरीय शिक्षाको नमुना केन्द्रका रूपमा विकास गर्ने लक्ष्य रहेको बताएका छन्। उनले सामुदायिक विद्यालयलाई निजी विद्यालयसरह प्रतिस्पर्धी बनाउन आफू निरन्तर लागिरहने प्रतिबद्धता व्यक्त गरेका छन्।

Facebook Comments Box