पार्थ-शुभद्रा फाउन्डेसनद्वारा शैक्षिक सामग्री सहयोग
कृष्णनगर । पार्थ-शुभद्रा फाउन्डेसनद्वारा सञ्चालित ८ औं शैक्षिक सामग्री सहयोग कार्यक्रम कृष्णनगरस्थित श्री महेन्द्र माध्यमिक विद्यालयमा भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रमको समन्वय विद्यालयका शिक्षक रेशम शास्त्री तथा समाजसेवी अब्दुल्ला खानले गर्नुभएको थियो।
कार्यक्रमका प्रमुख अतिथि कृष्णनगर नगरपालिकाका मेयर रजत प्रताप शाह रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा स्कुल व्यवस्थापन समिति अध्यक्ष सन्जय गुप्ता ज्यु सहभागी हुनुहुन्थ्यो। त्यसैगरी स्थानीय गन्यमान्य व्यक्तित्वहरू प्रभात भन्डारी, दिनेशचन्द्र गुप्ता, साजिद अली, महादेव विश्वकर्मा , सोनि कश्यप , खुस्बु कोरी लगायत प्रधानाध्यापक, शिक्षक-शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो।
कार्यक्रममा शिशु कक्षा देखि १० कक्षासम्मका प्रथम द्वितीय र तृतीय हुने विद्यार्थीहरुलाई आर्थिक तथा शैक्षिक रूपमा सहयोग आवश्यक भएका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरिएको थियो। फाउन्डेसनले शिक्षा जस्तो पवित्र क्षेत्रमा आवश्यकता भएका बालबालिकाको उज्ज्वल भविष्य निर्माण गर्ने उद्देश्यले विक्रम सम्वत २०७६ देखी हरेक वर्ष यस्तो सहयोगात्मक कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि मेयर शाहले शिक्षा विकासको आधार भएको उल्लेख गर्दै समाजका हरेक क्षेत्रबाट यस्ता सामाजिक तथा मानवीय कार्यमा सहयोग आवश्यक रहेको बताउनुभयो। उहाँले पार्थ-शुभद्रा फाउन्डेसनले निरन्तर रूपमा शिक्षा क्षेत्रमा पुर्याउँदै आएको योगदानको प्रशंसा गर्नुभयो।
फाउन्डेसनका तर्फबाट बोल्दै स्थानीय समाजसेवी प्रभात भन्डारीले पार्थ- शुभद्राहरुको जिवनका केही घट्नाहरुको स्मरण गर्नु भएको थियो। आयोजक पक्षले कार्यक्रममा उपस्थित सम्पूर्ण अतिथि, समाजसेवी, शिक्षाप्रेमी तथा सहयोगी हातहरूप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि शिक्षा तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सक्रिय रहने प्रतिबद्धता जनाएको छ। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको थियो।



