महाकाली नदीमा तीन दिने जल उद्धार तालिम सञ्चालन सम्पन्न
कञ्चनपुर । सुदूरपश्चिम प्रदेश प्रहरी विपद् व्यवस्थापन गुल्म महेन्द्रनगर, कञ्चनपुरले मनसुनजन्य विपद्लाई मध्यनजर गर्दै महाकाली नदी क्षेत्रमा तीन दिने जल उद्धार सम्बन्धी अनुशिक्षण तालिम सञ्चालन सम्पन्न भएको छ।
गुल्मका प्रमुख प्रहरी निरीक्षक नवीन नेगीका अनुसार मिति २०८३ जेठ १ गतेदेखि ३ गतेसम्म भीमदत्त नगरपालिका–१२ भुजेला तथा दोधारा चाँदनी नगरपालिका–११ स्थित महाकाली नदी क्षेत्रमा तालिम सञ्चालन गरिएको थियो।
तालिममा विपद् सम्बन्धी पूर्व तालिम प्राप्त तथा पौडी जान्ने ३०–३५ जना प्रहरी कर्मचारीहरूको सहभागिता रहेको थियो। अनुशिक्षकका रूपमा विपद् महाशाखा सामाखुसी, काठमाडौंमा कार्यरत प्रहरी नायव निरीक्षक प्रेम सिंह साउँद रहेका थिए।
तालिमका क्रममा रबर डुङ्गा सञ्चालन गर्ने तरिका, डुङ्गा पल्टिँदा पुनः सुल्टो बनाउने विधि, डोरीको सहायताले नदी पार गर्ने उपाय तथा घेरा उद्धार ट्युब, जीवनरक्षक ज्याकेट, हावाभरिएको गद्दा, फ्याँक्ने उद्धार झोला लगायतका सामग्री प्रयोग गरी डुबेका व्यक्तिको उद्धार गर्ने व्यावहारिक अभ्यास गराइएको प्रहरीले जनाएको छ।
मनसुनको समयमा हुन सक्ने बाढी तथा डुबानजन्य घटनामा प्रभावकारी उद्धार कार्यका लागि प्रहरी जनशक्तिलाई दक्ष बनाउने उद्देश्यले तालिम सञ्चालन गरिएको बताइएको छ।
