एकै दिन तीन ठाउँमा सुन चोरी: पाकिस्तानी महिलाको गिरोह चन्द्रौटामा पक्राउ
कपिलवस्तुको चन्द्रौटामा रहेको एक सुनचाँदी पसलमा चोरी गरेको आरोपमा दुई जना पाकिस्तानी महिलालाई प्रहरीले नियन्त्रणमा लिएको छ।
साँझ करिब ५:३० बजे सामान्य ग्राहकको रूपमा पसलमा प्रवेश गरेका ती महिलाहरूले सुन किन्ने बहानामा विभिन्न गहना हेर्ने क्रममा चोरी गरेको बताइएको छ। चोरीपछि पसलबाट बाहिर निस्किँदा उनीहरूले मास्कमाथि बुर्का लगाएर आफ्नो पहिचान लुकाउने प्रयास गरेका थिए।
पसल सञ्चालकले गहना हराएको थाहा पाएपछि तत्काल बजार क्षेत्रमा खोजी गरेका थिए। केही पर पुगेपछि ती महिलाहरू फेला परेपछि प्रहरीलाई खबर गरिएको थियो। त्यसपछि उनीहरूलाई वडा प्रहरी कार्यालय चन्द्रौटाले नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार पक्राउ परेका महिलाहरूले एकै दिन रुपन्देहीको योगिकुटि, कपिलवस्तुको तौलिहवा र चन्द्रौटामा गरी तीन स्थानमा चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनीहरूले नगद देखाएर तथा गहना हेर्ने बहानामा सुन चोरी गर्ने शैली अपनाउने गरेको पाइएको छ।
पक्राउ परेकामध्ये कलसुम र सहबाना नामका महिलाको साथबाट पाकिस्तानको पासपोर्ट समेत बरामद भएको प्रहरीले जनाएको छ। साथै, योगिकुटी क्षेत्रको एक सुनचाँदी पसलमा समेत चोरी गरेको तथ्य फेला परेको छ।
हाल उनीहरूविरुद्ध चोरी तथा ठगी सम्बन्धी मुद्दामा अनुसन्धान भइरहेको वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ
