रुपन्देहीका किसानलाई एकदिने धान विउ उत्पादन तथा रोग र किरा व्यवस्थापन सम्बन्धी तालिम सम्पन्न
लुम्बिनी ,२८ माघ ।
राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम हर्दिनाथले कोपिया प्रोजेक्टको सहकार्यमा लुम्बिनी प्रदेशको रुपन्देही जिल्ला स्थित मायादेवी गाउपालिकाका २३ जना किसानलाई एकदिने धान विउ उत्पादन तथा रोग र किरा व्यवस्थापन सम्बन्धी तालिम प्रदान गरेको छ । धान संयोजक डा. मथुरा यादवको अध्यक्षतामा उक्त कार्यक्रम भएको हो ।
बढ्दो विषादीको प्रयोगले धान उत्पादनमा ह्रास आउदै गरेको तथा रोग तथा किराले उच्चतम धान उत्पादनमा समस्या आईरहेको अवस्थामा तालिमले किसानलाई गुणस्तरिय धान उत्पादनमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
तालिममा एनएआरसीका मुख्य वैज्ञानिक र पुर्व धान संयोजक डा.रामवरण यादव,मुख्य वैज्ञानिक तथा पुर्व गहुँ बाली संयोजक जन्मजेय त्रिपाठी,वरिष्ट वैज्ञानिक र गहुँ बालीका वर्तमान संयोजक डा. रोमन वस्नेत र मायादेवी गाउपालिकाका कृषि विज्ञ शशी ढुंगानाले किसानहरुलाई प्रशिक्षित गरेको कोपिया प्रोजेक्टका प्रोजेक्ट लिडर डा. पल्लवी सिंहले बताईन । उनले किसानहरुलाई रोगकिरा,धानखेतीका नविनतम प्रविधि,धानका उन्नत जात र विउ व्यवस्थापन लगायतका विषयमा तालिम दिइएको बताईन ।
तालिम प्राप्त गरेका किसानहरुले तालिम आफुहरुको लागि उपलब्धी मुलक भएको बताएका छन । तालिममा सहभागि भएका रामनन्द कोहारले धानमा लाग्ने किराहरुको वारे जानकारी अत्यन्त लाभकारी भएको बताए । त्यसतै तालिममै सहभागि भृकुटी थारुले चैते धानको खेती निक्कै प्रभावकारी भएको बताए ।
नेपाल कृषि अनुसन्धान परिषद(नार्क) अन्तर्गतको राष्ट्रिय धानवाली अनुसन्धान कार्यक्रम मार्फत संचालनमा रहेको कोपिया प्रोजेक्टले बसन्त ऋतुको धान खेती प्रवद्र्धन गर्नुका साथै कम ग्लाइसेमिक इन्डेक्स भएका धानका जातीहरु पहिचान तथा प्रवद्र्धन गर्दै आएको छ ।
