यशोधरा गाउँपालिकामा नागरिक सुनुवाइ कार्यक्रम सम्पन्न
पुजा गुप्ता / कपिलवस्तु , पुस २१ । कपिलवस्तुको यशोधरा गाउँपालिका वडा नम्बर ७ मर्यादपुरमा स्थानीयवासी नागरिकहरूको गुनासो, पिरमर्का, राय तथा सुझाव प्रत्यक्ष रूपमा ग्रहण गर्ने उद्देश्यले नागरिक सुनुवाइ तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । सोमबार सम्पन्न उक्त कार्यक्रम जिल्ला प्रशासन कार्यालय कपिलवस्तु र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुको संयुक्त आयोजनामा सञ्चालन गरिएको हो । कार्यक्रम स्थानीय तहमा शान्ति सुरक्षा, अपराध नियन्त्रण तथा सेवा प्रवाहसम्बन्धी सचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजना गरिएको जनाइएको छ ।
कार्यक्रमका प्रमुख अतिथि प्रमुख जिल्ला अधिकारी जनार्दन गौतम रहनुभएको थियो भने विशिष्ट अतिथिका रूपमा प्रहरी उपरीक्षक सन्तोष आचार्यको उपस्थिति रहेको थियो । कार्यक्रम यशोधरा गाउँपालिका वडा नम्बर ७ मर्यादपुरका वडा अध्यक्ष चन्द्रप्रकाश दुबेको अध्यक्षतामा सम्पन्न भएको हो । कार्यक्रममा स्थानीयवासीहरूले शान्ति सुरक्षा, चोरी, लागूऔषध, घरेलु हिंसा, सार्वजनिक सेवा प्रवाह, प्रहरी प्रशासनसँग सम्बन्धित व्यवहारिक समस्या लगायतका विषयमा आफ्ना गुनासो तथा सुझावहरू प्रस्तुत गरेका थिए ।
कार्यक्रममा बोल्दै प्रमुख जिल्ला अधिकारी गौतमले नागरिकका गुनासोलाई गम्भीरतापूर्वक लिइने र कानूनको दायराभित्र रहेर समाधानका लागि प्रशासन प्रतिबद्ध रहेको बताउनुभयो । उहाँले नागरिक र प्रशासनबीचको समन्वयले मात्र शान्ति सुरक्षालाई प्रभावकारी बनाउन सकिने उल्लेख गर्नुभयो । त्यसैगरी प्रहरी उपरीक्षक आचार्यले समुदाय–प्रहरी साझेदारीको अवधारणालाई बलियो बनाउँदै अपराध नियन्त्रण र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाइने प्रतिवद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रमको सञ्चालन मर्यादपुर प्रहरी चौकीका इन्चार्ज जीवनदीप शर्माले गर्नुभएको थियो । आयोजकका अनुसार यस्ता सार्वजनिक सुनुवाइ कार्यक्रमले स्थानीयवासी र प्रहरी प्रशासनबीचको दूरी घटाउँदै आपसी विश्वास अभिवृद्धि गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।

