जसपाका अध्यक्ष राजेन्द्र श्रेष्ठसहित छ नेता नेकपा रोजे

सेयर गर्नुहोस

काठमाडौँ । जसपाका संघीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठसहित ६ जना नेताले पार्टीको कार्यकारिणी बैठक नडाकिएपछि फरक बाटो रोज्नुपरेको बताएका छन् ।
आइतबार अध्यक्ष अशोक राईलाई पत्र लेख्दै श्रेष्ठसहितका ६ नेताले एकीकरण र ध्रुवीकरणमा जोड दिँदै फरक बाटो रोजेको बताएका छन् ।

‘…तर दिनानुदिन काम गर्नुपर्ने कार्यकारिणीको स्थगित भएको बैठक हालसम्म नडाकिएको हुँदा चालु केन्द्रीय कार्यकारिणी समितिको बैठकको कार्यसूची नं.१ (ख) को कार्यसूचीलाई टुङ्गोमा नपुर्‍याएकोमा असहमत रहँदै जेनजी आन्दोलनपछि विकसित नयाँ परिस्थितिमा २०६२/०६३ सालको जनआन्दोलनबाट प्राप्त उपलब्धिहरूसमेत खतरामा पर्नसक्ने भएकाले विचारमा सामीप्यता रहेको अग्रगामी परिवर्तनका पक्षधर राजनीतिक शक्तिसँग मिलेर प्राप्त उपलब्धिहरूको रक्षा र थप उपलब्धि प्राप्तिका लागि सङ्घर्ष गर्नु पर्दछ भन्ने हाम्रो धारणा रहेको छ’, ६ नेताले अशोक राईलाई लेखेको पत्रमा भनिएको छ ।

उनीहरूले लेखेको पत्रमा थप भनिएको छ, ‘हामी तपसिलका केन्द्रीय कार्यकारिणी समितिका सदस्यहरू जनता समाजवादी पार्टीका आ–आफ्ना पदीय जिम्मेवारीबाट अलग हुँदै विभिन्न पार्टीहरू एकताबद्ध भई बनेको नेपाली कम्युनिस्ट पार्टी (नेकपा)सँग एकीकरण र ध्रुवीकरणको दिशामा अगाडि बढ्ने व्यहोरा जानकारीका लागि अनुरोध छ ।’

अध्यक्ष राईलाई जानकारी गराएको पत्रमा श्रेष्ठसहित उपाध्यक्ष रणध्वज लिम्बु (कन्दङ्वा),उपाध्यक्ष परशुराम बस्नेत,केन्द्रीय सल्लाहकार समितिका अध्यक्ष दुर्गामणी देवान,केन्द्रीय विज्ञ परिषदका अध्यक्ष डा. पुष्पराज राजकर्णिकार र केन्द्रीय अनुशासन आयोगका अध्यक्ष कृष्णबहादुर घजु रहेका छन् । जसपाको केन्द्रीय कार्यकारिणी १५ सदस्यीय रहेपनि केही समययता बैठकमा थोरै संख्यामा मात्र उपस्थित हुने गरेका थिए ।

Facebook Comments Box