पर्सगढिमा नेपाली सेनाद्वारा आयोजित ‘बृहत् स्वास्थ्य शिविर–२०८२’ भव्य रूपमा सम्पन्न
कार्तिक,३०
पर्सा गढिमा नेपाली सेनाद्वारा आयोजित ‘बृहत् स्वास्थ्य शिविर–२०८२’ भव्य रूपमा सम्पन्न, हजारौँ नागरिक लाभान्वित नेपाली सेनाले सामुदायिक स्वास्थ्य सेवा प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरेको ‘बृहत् स्वास्थ्य शिविर–२०८२’ भव्य रूपमा सम्पन्न भएको छ। शिविरले स्थानीय बासिन्दालाई गुणस्तरीय स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने लक्ष्य राखेको थियो र हजारौँ नागरिकले प्रत्यक्ष लाभ उठाएका छन्।शिविरमा नेपाली सेनाका विशेषज्ञ चिकित्सक, नर्स, स्वास्थ्यकर्मी तथा स्थानीय अस्पताल र स्वास्थ्य संस्थाका वरिष्ठ चिकित्सकहरू सहभागी भएका थिए। सहभागी चिकित्सकहरूले आन्तरिक रोग, शल्य चिकित्सा, स्त्रीरोग, बालरोग, नेत्ररोग, दन्त, फिजियोथेरापी, त्वचा तथा मानसिक स्वास्थ्य लगायतका बहुविशेषज्ञ सेवा प्रदान गरेका थिए। साथै, सर्वसाधारणले प्राथमिक स्वास्थ्य परीक्षण, आकस्मिक उपचार, आवश्यक औषधि वितरण र दीर्घकालीन रोग व्यवस्थापनसम्बन्धी परामर्श सहज रूपमा प्राप्त गरेका थिए।विशेषज्ञ चिकित्सकहरूमा डा. सेलेस्मा रिजाल (नाक–कान–घाँटी विशेषज्ञ), डा. बिपलव सुवेदी (जनरल फिजिसियन), प्रयास तिमिल्सिना (हाडजोर्नी तथा नसा रोग विशेषज्ञ) र डा. दिपक चौरसिया रहेका थिए। उनीहरूको सक्रिय सहभागिताले सेवा प्रवाह अझ प्रभावकारी बनेको सरोकारवालाहरूले उल्लेख गरेका छन्।स्थानीय र निजी संस्थाहरूको सहयोगले शिविर अझ सबल बनेको थियो। यसमा श्री वीरगञ्ज सामुदायिक आँखा केन्द्र, श्री प्रभु हस्पिटल एण्ड रिसर्च सेन्टर, श्री नारायणी अस्पताल, श्री शान्ति क्लिनिक, श्री पोखरिया प्रादेशिक अस्पताल, पर्सागढी नगरपालिका, क्वेस्ट फार्मास्युटिकल्स, नेपाल औषधि उत्पादक संघ लगायतका संस्थाहरूले जनशक्ति, औषधि र चिकित्सकीय उपकरण उपलब्ध गराएका थिए।कार्यक्रममा पर्सागढी नगरपालिकाका मेयर गोकर्ण पाठक, श्रीजङ गणका प्रमुख कर्नेल लोकेन्द्र कार्की, सामाजिक अभियन्ता दिलिप राज कार्की, पर्सागढी न.पा. का पूर्व मेयर लोकनरयन यादव, आँखा विशेषज्ञ महेश सिंह धामी र पर्सागढी मन्दिर व्यवस्थापन समितिका अध्यक्ष रामजनम प्रसाद चौधरी,नेपाल पत्रकार महासंघ पर्साक कार्यसमिति सदस्य राहुल गुप्ता सहित अन्य भद्र व्यक्तिहरू उपस्थित थिए।स्थानीय स्वास्थ्यकर्मीहरूले यस्ता समुदायमुखी अभियानहरूले स्वास्थ्य सचेतना अभिवृद्धि, प्राथमिक उपचारको पहुँच विस्तार र दीर्घकालीन रोग पहिचानमा महत्वपूर्ण भूमिका खेल्ने बताए। नेपाली सेनाले सामाजिक उत्तरदायित्व अन्तर्गत विगत वर्षदेखि सञ्चालन गर्दै आएका यस्ता शिविरहरूले वीरगञ्ज र आसपासका बासिन्दाको जीवनस्तरमा सकारात्मक परिवर्तन ल्याएको मूल्यांकन गरिएको छ।स्थानीय नेतृत्व र सहभागी संस्थाहरूले आगामी वर्षमा शिविरको दायरा अझ वृद्धि गर्दै आधुनिक उपकरण, विशेषज्ञ सेवा र व्यापक जनसहभागितासहित कार्यक्रम निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेका छन्। नेपाली सेनाको अग्रसरता, स्थानीय संरचनाको सहकार्य र समुदायको उत्साहपूर्ण सहभागिताले ‘बृहत् स्वास्थ्य शिविर–२०८२’ प्रदेशकै प्रभावशाली सार्वजनिक स्वास्थ्य अभियानको रूपमा स्थापित भएको निष्कर्ष सरोकारवालाहरूले निकालेका छन्।
