नेता थापालाई पदमुक्त गरिएको विरोधमा आपत्ति

कपिलबस्तु, भदौ १६ गते । नेपाली कांग्रेसका नेता विक्रम सिंह थापालाई लुम्बिनी प्रदेश कार्यसमिति सदस्य पदबाट मुक्त गरिएको निर्णयप्रति नेपाली कांग्रेस क्षेत्र नम्बर २ ‘क’ को कार्यसमितिले आपत्ति जनाएको छ । नेपाली कांग्रेस क्षेत्र नं. २ ‘क’ ले जिल्लाको गोरुसिंगेमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा सो आपत्ति जनाएको हो ।
कांग्रेस नेता एवम् भारतका लागि पूर्व राजदुत दिप कुमार उपाध्यायले यस्तो निर्णयले पार्टीलाई झन आन्तरिक द्धान्द भित्र धाकेलेको बताउनुभयो । थापा सक्रिय, इमानदार र संगठन विस्तारमा अग्रसर नेता भएको उल्लेख गर्दै उनलाई पदमुक्त गर्नु अन्यायपूर्ण भएको उहाँको भनाई छ ।
क्षेत्र नं. २ ‘क’ का क्षेत्रिय सभापति रविन्द्र प्रताप सिंहका अनुसार थापालाई एकतर्फी निर्णयमार्फत पदमुक्त गरिएको भन्दै सो कदमले पार्टीभित्र असन्तोष बढ्ने चेतावनी दिइएको बताउनुभयो । समितिले पार्टीभित्र आन्तरिक लोकतन्त्रलाई कमजोर पार्ने निर्णय नगर्न नेतृत्वलाई आग्रह समेत गरेको छ ।
साथै, सो निर्णय तत्काल फिर्ता लिन सम्बन्धित निकायलाई क्षेत्रिय समितिले आग्रह गरिएको छ ।
कार्यक्रममा पूर्व केन्द्रिय सदस्य राजेश सिंह, पूर्व मन्त्रि कमलेश शर्मा, पूर्व महासमिति सदस्य दिपेन्द्रनाथ शुक्ला, कपिलबस्तु नगरपालिकाका नगर सभापति खुर्सेद अहमद खाँ, पूर्व समन्वय समितिका सभापति नारायण खनाल, कांग्रेस नेता पदम बहादुर खनाल, विरेन्द्र मिश्रा लगायतको सहभागिता रहेको थियो ।
