पुरुष पनि पीडित हुन्छन् : एकतर्फी कुरा सुनेर न्याय मिल्दैन

सेयर गर्नुहोस

सामाजिक सञ्जालमा दैनिकजसो देखिन्छ–कुनै महिला रोइकराइ गर्दै आफ्ना श्रीमानबारे नानाथरी कुरा राख्दै हुन्छिन्, अनि मिडियाकर्मी वा युट्युबर क्यामेरा र माइक बोकेर पुग्छन्। महिलाको कुरा र आँखाको आँसु मात्र सार्वजनिक हुन्छ, भिडियो भाइरल हुन्छ, हजारौँले कमेन्ट गर्छन्, लाइक र भ्युज बढ्छन्। तर यत्ति आधारमा कसरी निर्णय गर्न सकिन्छ कि पुरुष नै गलत हुन्?सत्यको सधैं दुई पाटो हुन्छ, तर अहिले चलन भनेको एकपक्षीय कुरा सुनेरै निष्कर्ष निकाल्ने भएको छ। कानुनले पनि दुवै पक्षलाई सुनेर मात्रै फैसला गर्छ, तर सामाजिक सञ्जालमा भने रोएको पक्ष मात्र देखाएर अर्को पक्षलाई मौन गराइन्छ। यसरी न्याय होइन, अन्याय हुन्छ।हाम्रो समाजमा अझै पनि एउटा गलत धारणा गहिरो छाप भएर बसेको छ–महिला मात्र पीडित हुन्छिन्, पुरुष मात्र दोषी हुन्छन्। तर यथार्थ फरक छ। पुरुष पनि पीडित हुन्छन्, चाहे मानसिक यातना होस्, आर्थिक शोषण होस् वा निरन्तर अपमान। कतिपय अवस्थामा त महिलाले झूटो आरोप लगाएर आफ्ना स्वार्थका लागि कानुनलाई समेत हतियार बनाउने गरेका उदाहरणहरू प्रशस्त छन्। तर पीडित पुरुष बोल्न सक्दैनन्, किनकि समाजले उनीहरूको पीडालाई कमजोरी ठान्छ।पुरुष बिग्रनुमा पनि केवल पुरुषको दोष मात्रै हुँदैन। कतिपय अवस्थामा महिलाको कमी–कमजोरीले पनि पुरुषलाई गलत बाटोमा धकेल्छ। निरन्तर आरोप, अपमान, अवहेलना र जिम्मेवारीप्रति लापरबाही हुँदा पुरुष घरभित्रै असन्तुष्ट हुन्छन्। जब सम्बन्धमा सन्तुलन हुँदैन, तब कुनै न कुनै एक पक्ष बाहिर सुख खोज्न बाध्य हुन्छ। यसैले, विवाह वा सम्बन्ध बिग्रँदा दोष एकतर्फी नभई दुवैतर्फ हुन्छ भन्ने कुरा समाजले स्वीकार गर्नुपर्छ।यहाँ मिडियाको भूमिका झन् महत्वपूर्ण छ। पत्रकारिता भनेको सत्य उजागर गर्नु हो, एक पक्षलाई मात्रै देखाएर अरूको आवाज दबाउनु होइन। दुवै पक्षलाई बराबरी मौका दिन सकिएन भने त्यो पत्रकारिता होइन, केवल कन्टेन्ट बेच्ने व्यापार हो। समाजलाई सही जानकारी दिनुपर्ने ठाउँमा भावनात्मक भिडियो बनाएर भ्युज असुल्नु नै आजको ठूलो समस्या हो।विवाह सम्बन्ध बराबरीको हो, दुवैको जिम्मेवारी बराबरी हुन्छ। पुरुषले मात्र खर्च बोकेर, महिलाले मात्र पीडित भएर विवाह टिक्दैन। जब दुवैले आफ्नो कर्तव्य बुझ्छन् र जिम्मेवारी बाँड्छन्, तभी सम्बन्ध मजबुत हुन्छ।त्यसैले, न त हरेक घटना पुरुष मात्र दोषी हुन्छन्, न त महिला मात्र निर्दोष। न्याय एकपक्षीय बयान वा भाइरल भिडियोबाट होइन, प्रमाण र निष्पक्ष सुनुवाइबाट दिनुपर्छ। अब समाज, मिडिया र कानुन सबैले मिलेर यस्तो गलत प्रवृत्तिलाई अन्त्य गर्नुपर्छ र दुवै पक्षलाई बराबरी सम्मान दिन सक्ने संस्कार बसाल्नुपर्छ।विचार दिपेन्द्र चौधरी सहनी

Facebook Comments Box