एकपक्षीय र पूर्वाग्रही ढंगले भए कडा प्रतिकार गर्ने निर्णय

सेयर गर्नुहोस

काठमाडौं, ५ भदौ । संघीय लोकतान्त्रिक मोर्चाले गौर हत्याकाण्डबारे छानबिन गर्न सर्वोच्च अदालतले दिएको परमादेशप्रति ध्यानाकर्षण भएको बताएको छ । मोर्चाले सफा नियत, तटस्थता र कानुनसम्मत तरिकाले छानबिन भए समर्थन गर्ने तर एकपक्षीय र पूर्वाग्रही ढंगले भए कडा प्रतिकार गर्ने निर्णय गरेको छ ।जनता प्रगतिशील पार्टीका अध्यक्ष हृदयेश त्रिपाठीको अध्यक्षतामा बुधबार बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकपछि जारी विज्ञप्तिमा भनिएको छ, “यदि छानबिन निष्पक्ष, तटस्थ र सबैलाई दायरामा ल्याएर गरिन्छ भने कसैलाई आपत्ति हुने छैन । तर, एकपक्षीय, राजनीतिक प्रतिशोधी र विभेदी मानसिकताले गरिने कारबाहीको सशक्त प्रतिकार हुनेछ।”मोर्चाले गौर घटनाबारे तथ्य तोडमोड गरी प्रचार गर्ने र व्यक्ति–केन्द्रित दुष्प्रचार चलाउने प्रवृत्तिप्रति आपत्ति जनाएको छ । विज्ञप्तिमा भनिएको छ, “यस्ता गतिविधिले राजनीतिक प्रतिशोधको मानसिकता स्पष्ट देखाएको छ, जसको हामी घोर निन्दा गर्दछौं।”साथै, मोर्चाले गौर घटनाबारे २०६३ सालमा गठित ललितपुर पुनरावेदन अदालतका न्या. हरिप्रसाद घिमिरे नेतृत्वको छानबिन आयोग र तत्कालीन सर्वोच्च अदालतका न्या. खिलराज रेग्मी नेतृत्वको छानबिन आयोगको प्रतिवेदन सार्वजनिक गर्न माग समेत गरेको छ ।

Facebook Comments Box