गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल , पाँच महिनादेखि यहाँबाट कुनै अन्तर्राष्ट्रिय उडान नभएकाले व्यवसायी र स्थानीय निराश

भैरहवा । भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल उद्घाटन भएको तीन वर्ष नाघिसक्दा पनि पाँच महिनादेखि यहाँबाट कुनै अन्तर्राष्ट्रिय उडान नभएकोले व्यवसायी र स्थानीय निराश छन्।सरकारी स्वामित्वको एअरलाइन्ससमेत नियमित उडान नगर्नु ‘लाजमर्दो विषय’ भएको भन्दै व्यवसायीहरू सरकारकै इच्छाशक्ति कमजोर भएको आरोप लगाउँछन्। गत जनवरीदेखि मार्चसम्म त्रिभुवन विमानस्थल मर्मतका कारण २९९ उडान भैरहवाबाट भएका थिए, जसमा १५ हजारभन्दा बढी यात्रुले सुविधा पाएका थिए। तर चैत १६ यता विमानस्थल पुनः सुनसान छ।ट्राभल व्यवसायी चन्द्र थापाका अनुसार काठमाडौंका ठूला व्यवसायीको दबाब र एयरलाइन्सहरूको कार्टेलिङका कारण भैरहवामा उडान निरन्तरता दिन सकिएको छैन। उनको सुझावमा, थाई एअरमार्फत भैरहवा–बोधगया–सारनाथ–कुशिनगरजस्ता बौद्ध तीर्थयात्रा प्याकेज सञ्चालन गर्न सके विमानस्थल सधैं व्यस्त हुनसक्छ।तर अर्बौंको लगानी गरेर बनेको विमानस्थल खाली रहँदा होटेल तथा पर्यटन व्यवसायीको मात्र नभई स्थानीय बासिन्दाको समेत आशा चकनाचुर भएको छ।