कृषिमन्त्रीको एक वर्ष : नवीन कार्यक्रमसहित लगानी बढाउन प्रयत्नशील

सेयर गर्नुहोस

काठमाडौँ : कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आत्मनिर्भर कृषि, समृद्ध किसान र सुखी नेपालीको लक्ष्य हासिल गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताएका छन्।

आर्थिक वर्ष २०८१/८२ मा मन्त्रालयले गरेका प्रमुख कार्यक्रमका उपलब्धि सार्वजनिक गर्दै मन्त्री अधिकारीले कृषिमा लगानी बढाउन लागि पर्ने बताए। ‘कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहजरुपमा मल, बीउ र बजारको उपलब्धता, कृषि पेशा र व्यवसायलाई आकर्षक बनाउँदै आधुनिक कृषि प्रणालीका लागि लगानी अभिवृद्धिका काममा निःस्वार्थरुपमा लागिरहने प्रतिबद्धता व्यक्त गर्दछु’, कृषिमन्त्री अधिकारीले भने।

मन्त्रालयको जिम्मेवारी सम्हालेको एक वर्षमा नीतिगत तथा संस्थागत सुधार गरी कृषकलाई उपलब्ध गराइने सहुलियत तथा सेवा प्रवाहमा क्रमिक सुधार भएको बताउँदै उनले कृषिमा उत्पादकत्व वृद्धि, आधुनिकीकरण, बजारीकरण र किसानको जीवनस्तर सुधारलाई मुख्य प्राथमिकतामा राखेर काम गरिरहेको उल्लेख गरे।

मन्त्री अधिकारीले एक वर्षको अवधिमा बीउ-बिजन नियमावली, २०८१ स्वीकृत भई कार्यान्वयनमा आएको बताए। कृषि तथा पशुपन्छी बीमा डिजिटल प्रणालीमा आधारित हुने गरी कार्यान्वयनमा ल्याइएको भन्दै उनले कृषि क्षेत्रको एकीकृत कानुनका रुपमा रहेको कृषि विद्येयक तथा राष्ट्रिय कृषि नीति मन्त्रिपरिषद्‍मा लैजाने अन्तिम तयारीमा रहेको जानकारी गराए।

‘पशु कल्याण ऐनलाई अन्तिम रुप दिइएको छ। थन्किएर बसेका खाद्य गुणस्तर परीक्षण गर्ने चारवटा मोबाइल भ्यान सञ्चालनमा ल्याई उपभोक्ताले गुणस्तरीय खाद्यवस्तु उपभोग गर्ने वातावरण तयार भएको छ’, उनले भने।

मन्त्री अधिकारीका अनुसार, नेपाल कृषि अनुसन्धान परिषद्को पुनर्संरचना गर्न प्राध्यापक डाक्टर गोविन्दराज पोखरेलको अध्यक्षतामा समिति बनाइएको छ।

यस्तैगरी, दुग्ध विकास संस्थान (डिडिसी)सम्बन्धी अध्ययन गरी पुनर्संरचना एवं व्यवसायlक सुधारका लागि २३ बुँदे कार्ययोजना तथा सञ्चालन मोडालिटी तयार भएको छ। चीनमा दुग्ध पदार्थ र मासु निर्यातका लागि भन्सार सहजीकरणसम्बन्धी कार्य गरिएको उनले बताए ।

खोरेत रोग मुक्त क्षेत्र घोषणा गर्न संघीय र प्रदेश सरकारको संयुक्त पहलमा कोशी प्रदेशको इलामका तीन, मकवानपुर र सिन्धुलीमा एकएक क्षेत्रमा कम्पार्टमेन्टलाइजेसन कार्य थालिएको जानकारी गराउँदै मन्त्री अधिकारीले यसबाट दूध, मासु, छुर्पी, घ्यूजस्ता पशुजन्य पदार्थको अन्तरराष्ट्रिय बजार पहिचान तथा निर्यात प्रवर्द्धन गर्न सहज हुने विश्वास व्यक्त गरे।

बाँदरलगायत कृषि हानीकारक वन्यजन्तु नियन्त्रणका लागि पाइलट कार्यक्रम, प्राङ्गारिक कृषि प्रवर्द्धन र माटो स्वास्थ्य सुधार अभियान कार्यक्रम, जस्तै चिया, कफी, अलैँची, छुर्पीलगायतका निर्यातजन्य बाली-वस्तुहरूको उत्पादन वृद्धि, प्राङ्गारिक प्रमाणीकरण र निर्यात सहजीकरण जस्ता केही नवीन र परिणाममुखी कार्यक्रम अगाडि सारिएको उनले जानकारी गराए।

कार्यक्रममा मन्त्रालयका सचिव (पशुपन्छी विकास) डा. दीपककुमार खरालले मन्त्रालय पहिलो प्राथमिकताका रुपमा मुलुकमा खाद्य सुरक्षा सुनिश्चित गर्ने गरी अगाडि बढेको उल्लेख गरे। ‘यसका लागि उत्पादन र उत्पादकत्व वृद्धिसँगै प्रमुख खाद्य पदार्थहरूको आयात प्रतिस्थापन गर्ने दिशामा मन्त्रालयले काम गरिरहेको छ’, उनले भने।

उच्च मूल्यका कृषिजन्य पदार्थ निर्यात प्रवर्द्धनमा जोड दिँदै मन्त्रालयले कृषि क्षेत्रमा आश्रित किसानको जीविकोपार्जन सुधारसँगै सबल अर्थतन्त्र निर्माणका लागि कृषि क्षेत्रलाई सशक्तरुपमा कृषि क्षेत्रको योगदानका लागि काम गरिरहेको बताए।

यसका लागि परम्परागत जीविकोपार्जनका लागि परम्परागत खेती प्रणालीलाई व्यवसायीकरण, आधुनिकीकरण गर्न खोजेका छौँ, यान्त्रीकरणमार्फत उन्नत र समुन्नत बनाउन खोजेका छौँ’, उनले भने। थाहा खबर

Facebook Comments Box