विद्रोही समीकरणको कसरतमा शेखर, ओली–देउवा संसद् विघटनतर्फ जान सक्ने खतरा
डाकमान राई
काठमाडौँ : घुस खान्नँ र खान पनि दिन्नँ भन्दै सुशासनको भाषण छाँट्ने प्रधानमन्त्री केपी शर्मा ओलीकै क्याबिनेटका एकपछि अर्को मन्त्रीहरू पछिल्लो समय अवैध असुली तथा भ्रष्टाचार काण्डमा मुछिएका छन्। दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमाले मिलेर बनेको यो सरकार सुरुदेखि नै आलोचित हुँदै आएको थियो।
विवादित कदम र निर्णयका कारण आफैँभित्र असन्तुष्टि चुलिँदै जाँदा कमजोर बनेको सरकार अहिले मन्त्रीहरूको विभिन्न घुस काण्डले थप कमजोर बनेको छ। यही मौका पारेर सत्तारुढ कांग्रेसकै इतर समूहका नेता डा. शेखर कोइराला अर्थपूर्ण दौडधुपमा छन्।
सरकारको कामकारबाहीप्रति चर्को असन्तुष्टि पोख्दै आएका नेता कोइरालाले बिहीबार प्रमुख प्रतिपक्षी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भेटे। प्रचण्ड निवास खुमलटार पुगेर दुई घण्टा लामो संवाद गरेको भोलिपल्ट (शुक्रबार) एमालेको भावी अध्यक्ष्य बन्ने गरी सक्रिय राजनीतिमा फर्किएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पनि भेटे।
नेता कोइरालाको दौडधुप वर्तमान गठबन्धन (शेरबहादुर देउवा र केपी ओली)को विकल्प खोज्नकै निम्ति भएको दाबी नेताहरूको छ। कांग्रेस पृष्ठभूमिकै स्वतन्त्र सांसद अमरेशकुमार सिंहले प्रचण्ड र शेखरबीचको भेटमा देउवा–ओलीको विकल्प खोज्ने गरी छलफल भएको दाबी गरे।
बिहीबार शेखरसँगै प्रचण्डनिवास पुगेका नेता सिंहले थाहाखबरसँग भने, ‘देशमा नयाँ ध्रुवीकरणको आवश्यकता देखिएकाले त्यसका निम्ति गृहकार्य अघि बढेको छ। अब देश मुख्य गरी दुई पोलमा अघि बढ्छ। देउवा–ओलीको ध्रुवविरुद्ध शेखर, प्रचण्ड र विद्या भण्डारीलगायतको अर्को ध्रुव बन्छ। त्यसका लागि सकारात्मक वार्ता अघि बढेको हो।’
विभिन्न स्रोतमार्फत बाहिरिएको सूचनाअनुसार भेटमा प्रचण्डलाई शेखरले सरकार ढाल्ने सुझाव दिएका छन्। सरकार ढालेपछि नयाँ खेलहरू सुरु हुने र प्रधानमन्त्री को बन्ने, कसरी अघि बढ्ने भन्ने कुरा हुने बताएका थिए। प्रचण्डले कांग्रेस संसदीय दलका नेता शेखर नरहेको प्रसंग निकाल्दा वर्तमान गठबन्धन टुटेपछि नै त्यो खेल पनि हुने उनले बताएको उल्लेख छ।
शेखरले शुक्रबार पूर्वराष्ट्रपति भण्डारीसँग पनि भेटे। भण्डारीलाई भेट्न भंगाल पुगेका उनले करिब एक घण्टा छलफल गरेका थिए। दुई नेताबीच देशको समसामयिक राजनीतिक परिस्थिति, सरकारको प्रभावकारिता र जनस्तरबाट उठिरहेको आम असन्तुष्टिको विषयमा कुराकानी भएको भण्डारीको सचिवालयले जनाएको छ।
कांग्रेस–एमाले गठबन्धन सरकार बन्दै गर्दा विपक्षी दलका नेता प्रचण्डले बिचौलियाले बनाइदिएको आरोप लगाएका थिए भने यस्तो सरकारले कुनै देश र जनताको पक्षमा काम गर्न नसक्ने बताएका थिए। यस्तो सरकार भ्रष्टाचारी, दलाल र बिचौलियाकै सेवामा तल्लीन हुँदै आएको टिप्पणी गर्ने गरेका छन्।
अहिले आएर प्रचण्डको उक्त आरोपमा कांग्रेस नेता शेखर कोइरालासमेत सहमत देखिन्छन्। सरकारले कुनै पनि राम्रो काम नगरेको भन्दै उनले सार्वजनिक रूपमै असन्तुष्टि व्यक्त गर्दै आएका छन्।
‘कोशी मोडल’को पक्षमा शेखर !
२०७९ को आमनिर्वाचनपछि पटक–पटक समीकरण फेरिने क्रममा २०८० असोज २७ गते कोशी प्रदेशमा नयाँ अभ्यास भयो। केन्द्रमा कांग्रेस माओवादी गठबन्धन रहे पनि कोशीमा शेखर कोइरालाकै अग्रसरतामा कांग्रेस इतर समूह र एमाले मिल्दा अर्को गठबन्धन बनेको थियो।
केन्द्रमा पनि अब ठिक यस्तै होस् भन्ने चाहनाका साथ शेखरले प्रयत्न गरेको ठान्छन् राजनीतिक विश्लेषक नरेन्द्रजंग पिटर। अहिलेकै निरन्तरता रहे यसले आसन्न महाधिवेशनमा समेत आफू कमजोर हुने रणनीतिका साथ विद्रोहका पक्षमा शेखर उभिएको बुझाइ उनको छ।
‘यही क्रम निरन्तर रह्यो भने देउवाकोमा शक्ति केन्द्रीकरण हुने भयो। जसले महाधिवेशनमा आफू कमजोर हुन सक्ने परिस्थिति देखेर शेखरले गेम चेञ्जर रणनीतिका रूपमा अर्को समीकरण निर्माणको प्रयास गरेको देखिन्छ’, शेखर दलको नेता नरहेको प्रसंगमा उनले भने, ‘राजनीतिमा कहिले के हुन्छ भने प्रतिक्रियाले गर्दा मूल पात्रलाई भन्दा अर्को स्वीकार गरिन्छ।’
शेखरले विगतमा कोशी प्रदेशमा भए जस्तै आफूपक्षीय सांसदलाई लिएर विद्रोही समीकरण खडा गर्न चाहेको विश्लेषक पिटरको बुझाइ छ। उनले भने, ‘उहाँको प्रयत्न कोशीमा जस्तो विद्रोही समीकरण हुन सक्छ।’
अर्का विश्लेषक डा. विष्णु दाहाल पनि शेखर विद्रोही समीकरण निर्माणमै लागेको ठान्छन्। भ्रष्टाचार काण्डले सरकार कमजोर भएको र जनमत विपक्षमा भएको मौका पारेर शेखर लागिपरेको र यसमा बाह्य समर्थन पनि रहेको विश्लेषण उनको छ।
‘भ्रष्टाचारको काण्डले अहिले सरकार बदनाम र कमजोर छ। जनमत विपक्षमा छ। यो बेला एकदम सही हो भनेर शेखरसहित विपक्षीहरूले बुझेको देखिन्छ’, उनी भन्छन्, ‘यसमा अन्ताराष्ट्रिय परिवेश पनि परोक्ष रूपमा संलग्न रहेको हुन सक्छ।’
संसद् विघटनतर्फ जान सक्छन् ओली–देउवा
वर्तमान अवस्थामा कांग्रेस सभापति देउवा र एमाले अध्यक्ष ओली दुबै पार्टीभित्र दबाबमा छन्। इतर पक्षको दबाबमा देउवा छन् भने पूर्वराष्ट्रपति भण्डारीको सक्रियताले ओली तनावमा छन्।
यस्तो अवस्थामा दुबै नेताहरू संसद् विघटनतर्फ जान सक्ने खतरा देख्छन् राजनीतिक विश्लेषक डा. दाहाल। महाधिवेशन नजिकिएका वेला सरकार बदनाम भएको मौका पारेर शेखरले विपक्षी दल र विद्या भण्डारीसहितको समर्थनमा विद्रोहको बाटो लिँदा देउवा ओली संसद् विघटनतर्फ जाने सम्भावना धेरै रहेको उनी ठान्छन्।
‘अहिले कि त देउवाको कुकर्मको भागीदार बन्छु भनेर बस्नुपर्यो, होइन भने विद्रोह गर्नुपर्यो। यी दुईमध्ये शेखरले विद्रोहको बाटो लिने देखिन्छ। यो किन गर्न बाध्य छन् उनी भने भने महाधिवेशन आउँदै छ। यसो नगर्ने हो भने गाह्रो छ’, उनले भने, ‘यसो भए पनि अब हुने देखिन्छ भने विद्या र ओलीको द्वन्द्व एकातिर छ, अर्कोतिर शेखरले विद्रोह गर्दै छन् भनेपछि अब ओली संसद् विघटनको बाटोमा जाने सम्भावना धेरै देखिन्छ। किनभने ओलीका लागि विद्या पनि रोक्नुपर्ने, देउवाका लागि शेखर रोक्नुपर्ने छ। यो अवस्थामा उनीहरूका दुबैको विकल्प संसद् विघटन हुने खतरा देख्छु म चाहिँ।’ थाहा खबर

