हतियार लुकाएर राखेको आशंकामा दुई जना पक्राउ

सेयर गर्नुहोस

विराटनगर : हतियार लुकाएर राखेको आशंकामा मोरङको जहदाबाट दुई जनालाई पक्राउ गरेको छ। बुधबार बिहान २ जना पक्राउ पक्राउ गरिएको प्रहरीले जनाएको छ। प्रहरीले पेस्तोल समेत बरामद गरेको छ।

जहदा गाउँपालिका–४ हटिया टोलबाट बिहान करिब ६ बजेतिर हतियार बरामद भएको हो। दिनेश मण्डलको टाटीबेरा प्रयोग गरी टिनको छानो लगाएर बनाइएको भुस राख्ने छाप्रो घरभित्र लुकाइछिपाइ राखिएको अवस्थामा पेस्तोल फेला परेको मोरङ प्रहरी कार्यालय मोरङले जनाएको छ।

भुस राख्ने घर खानतलासी गर्दा प्लाष्टिकको बेरामा गहुँको भुसभित्र लुकाएर राखिएको ‘मेड इन जापान’ लेखिएको १ थान सिक्सर पेस्तोल बरामद गरिएको र पेस्तोलसँगै हातमा लगाउने नक, एउटा खुकुरी र मोबाइल पनि बरामद भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता कोपिला चुँडालले जानकारी दिइन्।

जहदा–४ का अन्दाजी १९ वर्षीय हरिकुमार महतो र आशिष मण्डललाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

हतियार लुकाएर राख्नेमध्ये जहदा–४ का अन्दाजी २० वर्षीय मुकेशकुमार महतो फरार छन्। उनको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। पक्राउ परेका हरिकुमारको साथबाट प्रहरीले नम्बर केरमेट गरिएको एउटा होन्डा मोटरसाइकल पनि नियन्त्रणमा लिएको छ।

पक्राउ परेकाहरूले उक्त हतियार भारतबाट ल्याएको हुनसक्ने प्रहरीको अनुमान छ। हतियार किन र कहिले ल्याएका हुन् भन्ने यकिन छैन।

हरिकुमार र आशिष यसअघि पनि मोटरसाइकल चोरीमा पक्राउ परेका थिए। अदालतले तोकेको सजाय भुक्तान गरेर १ महिनाअघि मात्रै छुटेको पाइएको प्रहरी स्रोतले जानकारी दिएको छ। थाहा खबर

Facebook Comments Box