इप्पानलाई मन्त्री खड्काले भने : ऊर्जासम्बन्धी विधेयक ल्याउँदैमा आत्तिनु पर्दैन

सेयर गर्नुहोस

काठमाडौं : ऊर्जा, जलश्रोत तथा सिचाइँमन्त्री दीपक खड्काले ऊर्जा​ सम्बन्धी विधेयक ल्याउँदैमा नआत्तिन आग्रह गरेका छन्। मंगलबार काठमाडौंमा इप्पानको २३औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले ऐन ल्याउनै नहुने भन्ने कुरा गलत भएको भन्दै ल्याइएको ऐनमा संशोधन र परिमार्जनसहित अघि बढ्न सकिने बताए।

मन्त्री खड्काले मुलुकको हित अनुकूल कानून निर्माण हुने भन्दै आफ्नो मुलुकलाई हेरेर कानून निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण नरहेको जिकिर गरे। उनले स्पष्ट उद्देश्यका साथ उर्जा क्षेत्रको विकासमा लाग्नुपर्ने बताए।

खड्काले आरसिओडीको समस्या रहेको स्वीकार गर्दै त्यसका लागि कमिटी नै गठन गरेर आरसिओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निष्कर्ष निकालेको बताए। भूमि प्राप्तिका समस्या छन् भने कानून परिमार्जन गरेर अघि बढ्न सकिने उनले बताए।

स्पष्ट उद्देश्यका साथ हामी उर्जा क्षेत्रको विकासमा लाग्नुपर्छ । आरसिओडीको समस्या छ । त्यसका लागि हामीले कमिटी नै गठन गरेर आरसिओडी पनि प्रोजेक्टको अवस्था हेरेर थपिदिने भन्ने निर्क्यौल गरिहरेका छौँ । भूमि प्राप्तिका लागि के समस्या हो ? त्यसको लागि कानून परिमार्जन गरेर अघि बढ्छौँ । ऐनमाथि छलफल भइरहेको छ’, उनले भने, ‘ऐन ल्याउनै हुँदैन भन्ने कुरा त्यत्ति राम्रो कुरा होइन । समयानुकूल हाम्रा कानूनहरू परिमार्जित गर्दै जानुपर्छ । पटक पटक निजी क्षेत्रका साथीहरूलाई पनि भनिएको छ, कहाँनेर समस्या हो आउनुस् बसौँ, छलफल गरौँ । परिमार्जित नहुने कुरा भएको भए ऐन किन ल्याउनु पर्दथ्यो । परिमार्जित हुन्छ, सम्भव छ र मुलुकको हित अनुकूल कानून निर्माण हुन्छ । आफ्नो मुलुकलाई हेरेर कानून निर्माण हुने भएकाले तर्सिनुपर्ने, आत्तिनुपर्ने कारण छैन ।’

२८ हजार ५ सयको रोडम्यापलाई पछ्याउने हो भने पनि लाखौँ मान्छेले यहीँ रोजगारी प्राप्त गर्नसक्ने मन्त्री खड्काले बताए। विकास समयको माग भएकाले कसैले रोकेर नरोकिने उनले स्पष्ट पारे।

मन्त्री खड्काले उर्जा आयोजनाहरूको आइपिओ रोक्न कुनै आवश्यक नरहेको भन्दै संवादमार्फत समाधान गर्न सकिने बताए। ऊर्जा क्षेत्रको विकासका लागि सरकार खुला रहेको उनले बताए। थाहा खबर

Facebook Comments Box