एमाले अध्यक्ष बनेर विद्या भण्डारीले पहलकदमी लिए वामपन्थी एकता सम्भव छ : झलनाथ खनाल
काठमाडाैं : पूर्वप्रधानमन्त्री एवं नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी राजनीतिमा आउनुलाई सकारात्मक रुपमा लिएको बताएका छन्। शनिबार चीनको भ्रमण सकेर स्वदेश फर्किएका उनले सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन्।
पूर्वप्रधानमन्त्री खनालले अहिलेको नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले रहेको बताउँदै एमालेले नै अरु सबैलाई एकताबद्ध गर्न जरुरी रहेको बताए। एमालेले एकताबद्ध गर्न नचाहँदा नै वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको भन्दै उनले एमालेले वामपन्थी एकता गर्न चाहने हो भने ठूलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको बताए।
नेता खनालले अब एमाले अध्यक्ष बनेर विद्या भण्डारीले पहलकदमी लिए वामपन्थी एकता सम्भव रहेकाे पनि बताए।
‘अहिलेको नेपालमा सबैभन्दा ठूलो वामपन्थी समूह नेकपा एमाले नै हो । त्यो समूहले नै अरु सबैलाई एकताबद्ध गर्न नचाहेको हुनाले वामपन्थी आन्दोलन विभाजित अवस्थामा रहेको पनि हो । त्यसो हुनाले एमालेले वामपन्थी एकता गरौँ, भनेर चाहने हो भने अलि ठूलो मात्राको वामपन्थी एकता हुनसक्ने सम्भावना रहेको छ’, उनले भने, ‘यदि विद्या भण्डारीले वामपन्थी एकता आजको आवश्यकता हो भन्ने महसुस गरेर राजनीतिमा प्रवेश गर्ने, एमालेमा प्रवेश गर्ने र म अब पहलकदमी गर्छु, एमालेको अध्यक्ष पनि बन्छु भन्ने कुरा गरेको हो भने यसलाई हामीले सकारात्मक रुपमा लिनुपर्छ ।’ थाहा खबर

