ज्येष्ठ नागरिकसम्बन्धी सार्वजनिक महत्वको प्रस्ताव कार्यान्वयन गर्न निर्देशन

सेयर गर्नुहोस

काठमाडौँ : राष्ट्रियसभाले ‘ज्येष्ठ नागरिकको जीवन सुरक्षित, गुणस्तरयुक्त र सम्मानित बनाउन थप विशेष व्यवस्था गर्नुपर्ने’सम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेखित विषयलाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिएको छ।

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रियसभाका सदस्य सुमित्रा विसी प्रस्तावक र राष्ट्रियसभाका सदस्यहरु उर्मिला अर्याल, कमला पन्त, भगवती न्यौपाने, मायाप्रसाद शर्मा, मदनकुमारी शाह (गरिमा), पदमबहादुर परियार र पूजा चौधरी समर्थक रहेको जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफल गर्दै उक्त निर्देशन दिएको हो।

राष्ट्रियसभाकी उपाध्यक्ष विमला घिमिरेले ज्येष्ठ नागरिकसम्बन्धी जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेखित विषय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्रीले सभामा व्यक्त गरेको प्रतिबद्धतालाई प्राथमिकताका आधारमा कार्यान्वयन गर्न सरकारलाई निर्देशन दिइन्। साथै उनले उक्त जरुरी सार्वजनिक महत्वको प्रस्तावमा उल्लेखित विषयको अनुगमन गर्न सम्बन्धित विषयगत समितिलाई निर्देशन दिए।

बैठकमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि जवाफ दिँदै ज्येष्ठ नागरिकको समस्याप्रति आफू गम्भीर रहेको उल्लेख गर्दै ज्येष्ठ नागरिकका लागि महत्वूर्ण सवाललाई समेटेको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई प्रभावकारी कार्यान्वयनमा लैजानुपर्नेमा जोड दिए।

उनले ज्येष्ठ नागरिकका विषयमा महिला मन्त्रालय मात्रै नभई, स्वास्थ्य, कानुन र अर्थ मन्त्रालयसँग पनि सम्बन्धित रहेकाले सबैले विषयको संवेदनशीलतालाई ख्याल गरेर अगाडि बढ्नुपर्नेमा जोड दिए। थाहा खबर

Facebook Comments Box