भ्यू टावरमा भ्रष्टाचार‚ प्रधानमन्त्री ओलीमाथि छानबिन हुनुपर्छ : मेयाङ्बो

सेयर गर्नुहोस

काठमाडौँ : झापाको दमकमा निर्मित ‘भ्यू टावर’मा संगठित भ्रष्टाचार भएको र त्यसमा प्रधानमन्त्री केपी ओलीमाथि छानबिन गर्न स्थानीय बासिन्दाले माग गरेका छन्।

दमक–५ का स्थानीय बासिन्दा अबिन मेयाङ्ग्बोले बुधबार संवाद डबलीमा पत्रकार सम्मेलन गरेर भ्यू टावर निर्माणको नाममा सार्वजनिक सम्पत्ति हिनामिना गर्न खोजेको भन्दै छानबिन गर्न माग गरेका छन्।

तत्कालीन ओली नेतृत्वको सरकारले गौरवको योजनाको रूपमा निर्माण गरेको उक्त भ्यू टावरसम्बन्धी सम्झौता पनि सार्वजनिक गर्न मेयाङ्ग्बोले माग गरे।

दमक नगरपालिका–३ मा १८ तले भ्यू टावर ४ बिघा १८ कठ्ठा ७ धुरमा निर्माण गरिएको छ। भ्यू टावर निर्माणको लागि २०७३ सालतिर माँ पञ्चकन्या हाउजिङ प्रा.लि.लाई करिब ४ बिघा १८ कठ्ठा, ७ धुर जग्गा दमक नगरपालिकाले उपलब्ध गराएको थियो। स्थानीय विकास र पर्यटन प्रवर्धनको अपेक्षा गरेर सार्वजनिक प्रयोजनको लागि कम्पनीलाई दिइएको थियो।

अहिले कम्पनीले भ्यू टावर निर्माण गरिएको २ बिघा जग्गा सापटीस्वरूप फिर्ता र २५ कठ्ठा जग्गाबापतको क्षतिपूर्ति माग गरेर पुनः स्वामित्व दाबी गरेपछि नयाँ विवाद सिर्जना भएको छ। जनप्रतिनिधि नभएका वेला नगरपालिकाले कसरी उक्त कम्पनीलाई जग्गा दियो भन्ने अहिलेसम्म खुलेको छैन।

यसै विषयलाई लिएर स्थानीय बासिन्दा एवै सञ्चारकर्मी मेयाङ्ग्वोले अख्तियार कार्यालय टंगाल, काठमाडौँमा उजुरी दर्ता गराउँदै तत्काल छानबिनको माग गरेका छन्।

उनले नगरपालिका र कम्पनीबीच सम्झौता नभेटिएको तर कम्पनीले मौद्रिक मूल्य फिर्ता माग गर्नुले गोप्यरूपमा सार्वजनिक सम्पत्ति व्यक्तिगत लाभमा प्रयोग भएको देखिएकाले छानबिनको माग गरेको उनले जानकारी दिए।

‘सो जग्गा कुनै प्रस्ताव, सम्झौता, खुला प्रतिस्पर्धा वा सार्वजनिक मापदण्डबिना निजी कम्पनीलाई दिएको देखिन्छ, नगरपालिकाले कुनै सम्झौता भएको छैन, सार्वजनिक सम्पत्ति व्यक्तिले लाभ लिने गरी संगठितरूपमा भ्रष्टाचार भएको देखिन्छ। अहिले पुनः स्वामित्व दाबी गरेकोले छानबिनको माग गर्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिएको हुँ’‚ मेयाङ्ग्बोले पत्रकार सम्मेलनमा भने।​

भ्यू टावर निर्माणको विषयलाई पादर्शी बनाउन आफूले लामो समयदेखि माग गर्दै आएको तर नगरपालिकाले कुनै कागजात देखाउन नसकेको उनले बताए। उनले कम्पनीले माग दाबी गरेअनुसारको जग्गा र मौद्रिक क्षतिपूर्ति दिन नहुने बताए।

भ्यू टावर नबन्नुअघि प्रतिकठ्ठा अधिकतम ३ लाखसम्म पर्ने सो जग्गा कम्पनीले अहिले ५० लाखको हिसाबले क्षतिपूर्ति माग गरेको छ।

प्रधानमन्त्री केपी शर्मा ओलीकै पहलमा उक्त भ्यू टावर निर्माणमा भएको र सार्वजनिक सम्पत्ति अपादर्शीरूपमा व्यक्तिले लाभ लिने खेल भएको दाबी मेयाङ्ग्बोले गरे। उनले भने, ‘प्रधानमन्त्रीकै पहलमा भ्यू टावर निर्माण गरिएको हो। उहाँले भ्यू टावरलाई निकै महत्त्व दिनुभएको छ, यसमा भएको संगठित भ्रष्टाचारमा उहाँको पनि संलग्नता हुन सक्छ, उहाँमाथि पनि छानबिन हुनुपर्छ।’थाहा खबर

Facebook Comments Box