उपभोक्ता समिति गुटबन्दी र विकृतिका थलो बने, यिनलाई काम गर्न दिनुहुन्न : योगेश भट्टराई

सेयर गर्नुहोस

काठमाडौँ : नेकपा (एमाले)का सांसद योगेश भट्टराईले विकास निर्माणको काम उपभोक्ता समितिमार्फत गराउन नहुने धारणा राखेका छन्।​

प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिको बैठकमा बोल्दै सांसद भट्टराईले यस्तो बताएका हुन्। उपभोक्ता समितिहरू अहिले राजनीतिक दलका कार्यकर्ता भर्ती केन्द्र बन्न पुगेको उनको टिप्पणी छ।

विगतमा उपभोक्ता समितिमार्फत काम हुँदा ठेकेदारभन्दा प्रभावकारी हुने भए पनि पछिल्लो समय उपभोक्ता समितिमा बेथितिका चाङ रहेको टिप्पणी गरे। उनले उपभोक्ता समितिमार्फत विकास निर्माणका काम गर्दा दलगत गुटबन्दी र राजनीतिक विकृति फैलिएको बताए।

उनले उपभोक्ता समितिहरू राजनीतिक कार्यकर्तालाई बिगार्ने थलो बनेका कारण ऐन बनाएर उपभोक्ता समितिलाई काम गर्न नदिने व्यवस्था गर्नुपर्नेमा उनको जोड छ।

भट्टराईले भने, ‘उपभोक्ता समिति राजनीतिक दलका कार्यकर्ता भर्तीकेन्द्र भए। यसले राजनीतिक दलहरूलाई समेत विभाजन हुने गरी गुटबन्दी भइरहेको छ। अहिले उपभोक्ता समितिबाट राजनीतिक कार्यकर्तालाई बिगार्ने काम भएको छ। अब उपभोक्ता समितिबाट काम गर्न दिनु हुँदैन।’

उनले खानेपानी, सिँचाइ तथा मलको उपलब्धताका सम्बन्धमा सरकारलाई निर्देशन गर्न माग गरे। थाहा खबर

Facebook Comments Box