कांग्रेस अनुशासन समितिको कारबाही विधान विपरीत र एकतर्फी भएकाे शेखर समूहकाे ठहरकारबाहीमा परेकालाई अन्याय हुन नदिने प्रतिबद्धता

सेयर गर्नुहोस

काठमाडौं : नेपाली कांग्रेस शेखर कोइराला समूहले पार्टीको केन्द्रीय अनुशासन समितिले नेताहरूलाई गरेको कारबाही विधान विपरीत र एकतर्फी भएको ठहर गरेको छ। बिहीबार बसेको समूहको बैठकले सभापति शेरबहादुर देउवालाई कारबाही प्रक्रिया अगाडि नबढाउन आग्रह पनि गरेको छ।

कांग्रेस केन्द्रीय अनुशासन समितिले बुधबार कास्कीका महासमिति सदस्य एवं गण्डकी प्रदेशका पूर्वमन्त्री कुमार खड्का, लुम्बिनी प्रदेशका महामन्त्री विक्रम खनाल, खोटाङका सभापति विष्णुकमार राई, पर्सा क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति अरविन्दकुमार गुप्तासमेतलाई एक वर्षसम्म कांग्रेसको सदस्यबाट निष्कासन गरेकाे थियाे। शेखर समूहले उक्त कारबाही अमान्य भएको भन्दै आपत्ति जनाएको हो।

साथै शेखर समूहको बैठकले कारबाहीमा परेका कसैलाई पनि अन्याय हुन नदिने प्रतिबद्धतासमेत जनाएको छ। बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङले सभापति देउवा, उपसभापतिहरू र महामन्त्रीहरूबीच अहिले अनुशासन समितिको फाइल नचलाउने कुरा भएको बताएका थिए। तर हिजो अनुशासन समितिका संयोजक आनन्द ढुङ्गानाले समितिमै छलफल नगरी अचानक विज्ञप्ति निकालेर कारबाही गरिएको बताए।

बैठकमा उपसभापति गुरुङ, सहमहामन्त्री जीवन परियार, नेताहरू अर्जुननरसिंह केसी, बलबहादुर केसी, अनुशासन समिति सदस्य संजय गौतम लगायत काठमाडौंमा उपलब्ध केन्द्रीय सदस्यहरू सहभागी थिए। थाहा खबर

Facebook Comments Box