जोखिममा रहेका हिमतालबारे सूचना आदानप्रदानमा कूटनीतिक पहल गर्न सांसदको सुझाव
काठमाडौँ : प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले मङ्गलवार रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै सीमापार विपद्का सम्बन्धमा कूटनीतिक पहल गर्नुपर्ने सुझाव दिएका छन्।
उनीहरुले चीनका विभिन्न क्षेत्रमा जोखिम अवस्थामा रहेका हिमतालको खतरा नेपालमा समेत देखिएको बताउँदै समाधानका लागि सूचना आदानप्रदान र सहकार्य गर्न कूटनीतिक पहल गर्नुपर्नेमा जोड दिए।
बैठकमा सांसद राजेन्द्र बजगाईँले मङ्गलबार रसुवाको भोटेकोशीमा गएको बाढीबाट भएको क्षतिप्रति दुःख व्यक्त गर्दै उद्धार र राहतलाई तीव्रता दिन सरकारसँग माग गरे। उनले यस्ता विपद्को समाधानका लागि कूटनीतिक रूपमा पहल गर्नुपर्ने सुझाए।
सांसद नारायणप्रसाद आचार्यले बुटवलबाट पाल्पा जाँदै गरेको मोटरसाइकलमा मङ्गलवार पहिरोको ढुङ्गा खसेर दुर्घटनामा परी एकको निधन र एक जना घाइते भएका घटनाप्रति दुःख व्यक्त गर्दै आगामी दिनमा यस्ता घटना हुन नदिनका लागि सजगता अपनाउन सरकारको ध्यानाकर्षण गराए।
सांसद माधवप्रसाद सापकोटाले रसुवामा बाढीबाट ठूलो जनधनको क्षति भएको भन्दै बेपत्ता नागरिकको शीघ्र खोजी र उद्धारका लागि माग गरे। उनले चिनियाँ पक्षले उक्त घटनाका बारेमा जानकारी गराए पनि सजगता नपनाइएको उल्लेख गर्दै सीमा क्षेत्रमा जोखिममा रहेका हिमतालका सम्बन्धमा चिनियाँ सरकारसँग वार्ता गरी सूचना आदानप्रदान गर्ने उपाय अपनाउन सरकारको ध्यानाकर्षण गराए।
सांसद शेरबहादुर कुँवरले भोटेकोशीमा आएको बाढीबाट ठूलो जनधनको क्षति भएको बताउँदै हराइरहेका व्यक्तिको तत्काल खोजी गर्न आग्रह गरे।
उनले साँफेबगरमा केही दिनअघि एक जना व्यक्तिको करेन्ट लागेर निधन भएको जानकारी गराउँदै तत्काल राहतको व्यवस्था गर्न र आगामी दिनमा त्यस्ता घटना नियन्त्रणमा प्राधिकरणको ध्यानाकर्षण गराए। थाहा खबर

