सीसीपीको निम्तो मान्न नेता खनाल चीन प्रस्थान

सेयर गर्नुहोस

काठमाडौँ : नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनाल चिनिया कम्युनिस्ट पार्टी (सीसीपी) को निमन्त्रणामा चीन प्रस्थान गरेका छन्। बेइजिङमा हुने ‘विश्व सभ्यता संवाद’ कार्यक्रममा सहभागी हुन खनाल गए राति त्यसतर्फ प्रस्थान गरेको उनको सचिवालयले जनाएको छ।

बेइजिङको मुख्य कार्यक्रममा सहभागी हुनुअघि खनाल हेनान प्रान्तको तीन दिने भ्रमण गर्ने कार्यक्रम छ। खनालले त्यहाँको आधुनिक कृषि अनुसन्धान केन्द्र, डिजिटल प्रविधि कम्पनी, नयाँ ऊर्जा प्रविधि कारखाना तथा ग्रामीण पुनरुत्थानका नमुना परियोजनाको अवलोकन गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

हेनानको कार्यक्रम सकेर नेता खनाल जुलाई ९ मा चीनको राजधानी बेइजिङ पुग्ने कार्यक्रम छ। बेइजिङमा खनालले जुलाई १० मा दुईवटा महत्त्वपूर्ण सत्रलाई सम्बोधन गर्नेछन् ।

बेइजिङ बसाइका क्रममा नेता खनालले चिनिया कम्युनिष्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओ लगायत शीर्ष चिनिया नेतासँग भेटवार्ता गर्नेछन्।त्यहाँ सम्मेलनमा सहभागी हुन आएका विभिन्न मुलुकका पूर्वप्रधानमन्त्री, मन्त्री, विज्ञ तथा प्रतिनिधिहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम रहेको उनको सचिवालयले जनाएको छ।

पाँच दिने भ्रमण पूरा गरी नेता खनाल असार २७ गते स्वदेश फर्किने कार्यक्रम छ। थाहा खबर

Facebook Comments Box