रोटरी क्लव अफ बुटवल चौतारीको बैठकः रोटरीयनले समुदायमा माया बाँड्न सक्नुपर्ने

सेयर गर्नुहोस


रोटरी क्लव अफ बुटवल चौतारीको २५६ औं नियमित एवं वर्ष २०२५–२६ को पहिलो बैठक शनिबार बुटवलमा सम्पन्न भएको छ ।

बैठकमा दुई जना पुर्व डिष्ट्रिक गभर्नरहरु चिन्तामणि भट्टराई र राजीव पोखरेल पनि सहभागी थिए । बैठकले आगामी साउन १० गते वृक्षारोपण गर्ने निर्णय गरेको क्लवका अध्यक्ष राजु अधिकारीले जानकारी दिए । यसका लागि रोटरीयन माधव पौडेलको संयोजकत्वमा ६ सदस्यीय कमिटी निर्माण गरिएको छ ।

क्लवले यसवर्ष आयोजना गरिने सबै कार्यक्रममा सक्रियतापूर्वक सहभागिता जनाउन सबै रोटरीयनहरुलाई आग्रह गरेको छ ।

बैठकलाई संबोधन गर्दै रोटरी इन्टरनेशनल डिष्ट्रिक ३२९२ का पूर्व डिष्ट्रिक गभर्नर राजीव पोखरेलले समुदायका लागि योगदान गर्न सक्नु नै रोटरीयनको मुख्य उद्देश्य र कर्तव्य रहेको बताए ।

उनले प्रत्येक रोटरीयनले समुदायमा माया बाँड्न सक्नुपर्ने र कुनै पनि कामको प्रभाव देखाउनुपर्ने भन्दै बरु सीमित कार्यक्रम गर्न तर सबैको सहभागिता गराउन आग्रह गरे ।

रोटरीका आन्तरिक र बाह्य प्राथमिकता रहेको उल्लेख गर्दै उनले बाह्य प्राथमिकता पोलियोलाई संसारबाट हटाउने र आन्तरिक प्राथमिकता सदस्य बढाउने र उनीहरुलाई टिकाउनेमा केन्द्रित हुनुपर्ने बताए ।

त्यस्तै बैठकलाई संबोधन गर्दै अर्का पूर्व डिष्ट्रिक गभर्नर चिन्तामणी भट्टराईले रोटरीप्रति समुदायको आकर्षण बढाउन यसका उद्देश्य, क्रियाकलाप र समुदायको आवश्यकतालाई ध्यानमा राखेर अगाडि बढ्न आग्रह गरे ।

उनले सर्भिस प्रोजेक्टमा समुदायको पनि सक्रिय सहभागिता गराउन सके उनीहरुले पनि रोटरीप्रति अपनत्व ग्रहण गर्ने बताए ।

क्लवका संस्थापक अध्यक्ष डा. विष्णु घिमिरे र निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेलले क्लवका आगामी कार्यक्रम अगाडि बढाउन आफूहरुको उत्तिकै साथ र सहयोग रहने प्रतिवद्धता व्यक्त गरे । क्लवका अध्यक्ष राजु अधिकारीले अग्रजहरुको साथ र सहयोगबाट क्लवका आगामी कार्ययोजनालाई अगाडि बढाउने बताए ।

त्यस अवसरमा क्लवका निवर्तमान अध्यक्ष नुमेन्द्र पौडेलको तर्फबाट आफ्नो कार्यकालमा महत्वपूर्ण सहयोग पुर्याएको भन्दै प्रेस सल्लाहकार लक्ष्मण पौडेललाई नगदसहित सम्मान गरिएको थियो । बुटवल,

Facebook Comments Box