अख्तियारबाट निर्दोष प्रमाणित भइसकेपछि पनि बदनाम गर्नेप्रति दया लाग्छ : सुदन किराती
काठमाडौं : नेकपा माओवादी केन्द्रका नेता तथा पूर्व संस्कृति, पर्यटनमन्त्री सुदन किरातीले पशुपति क्षेत्रसँग सम्बन्धित विषयमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको अनुसन्धानले आफूलाई निर्दोष प्रमाणित गरिसकेको बताएका छन्। सोमबार सामाजिक सञ्जाल उनले अख्तियारको अनुसन्धानबाट निर्दोष प्रमाणित भइसक्दा पनि आफ्नो तस्बिर जोडेर बदनाम गर्ने प्रयास भइरहेको भन्दै उनले असन्तुष्टि जनाएका छन्।
किरातीले भनेका छन्, ‘पशुपतिको विषयमा अख्तियारको अनुसन्धानबाटै म निर्दोष छु भन्ने कुरा प्रमाणित भइसक्यो । अझै पनि सामाजिक सञ्जालहरूमा मेरो फोटो टाँसेर मलाई बदनाम गर्न खोज्नेहरूप्रति दया लाग्छ।’
पूर्वमन्त्री किरातीले उक्त विषयमा सामान्य चर्चा चल्ने बित्तिकै आफूले छानबिनका लागि तत्कालीन मन्त्रीसमक्ष निवेदन दिएको स्मरण गराउँदै अनुसन्धानमा सहयोग गर्नु आफ्नो कर्तव्य भएको बताएका छन्। उनले नेपालको कानुनअनुसार जोकोहीमाथि पनि भ्रष्टाचारको उजुरी पर्न सक्ने भन्दै यसलाई सामान्य प्रक्रियाको रूपमा लिनुपर्ने बताए।
उनले भनेका छन्, ‘सुदन किरातीलाई मात्र होइन, उजुरी वडा अध्यक्षदेखि पूर्व प्रधानमन्त्रीहरू सहित लाखौँ मान्छेलाई लागेको छ। यस्तो विषयमा सम्बन्धित निकायले जानकारी लिनु र सहयोग माग्नु सामान्य प्रक्रिया होइन र ?’
आइतबार मात्रै अख्तियारले पशुपतिमा विद्युतीय शवदाह गृहको मेसिन खरिद तथा जडान प्रक्रियामा मिलेमतो गरी कोषको सम्पत्ति हिनामिना र हानी नोक्सानी पुर्याएर भ्रष्टाचार गरेको अभियोगमा १४ व्यक्ति र दुई कम्पनीविरुद्ध मुद्दा दायर गरेको थियो। पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव मिलनकुमार थापालगायत १४ व्यक्ति दुई कम्पनीविरुद्ध १० करोड ३३ लाख ९१ हजार ३० रुपैयाँ बिगो मागदाबीसहित आरोपपत्र दायर गरिएको हो। थाहा खबर

