कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढ्यो : सांसद मोदी
काठमाडौँ : नेकपा (माओवादी केन्द्र)का सांसद अमनलाल मोदीले कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढेको दाबी गरेका छन्।
थोरै समयमा धेरै मन्त्रालयको खर्च कटौतीमा टिप्पणी गर्नुपर्ने अवस्थामा समय कम भएको भन्दै सभामुखको ध्यानाकर्षण गराउनुभएको छ।
शनिवार प्रतिनिधिसभा बैठकमा विनियोजन शीर्षकहरूमाथिको छलफलमा भाग लिँदै सांसद मोदीले छलफलमा मन्त्रीहरू पनि नआउने र मन्त्रालय थप्दै जाने हो भने समय पनि थप्न आग्रह गरे। उनले संघीय निजामती ऐन संसद्मा पेश भए पनि नआउँदा दुःख लागेको बताउँदै आफू मन्त्री भएको समयमा कर्मचारीको तलब वृद्धिका लागि कार्यदल बनाइए पनि त्यो अहिले नदेखिएको स्पष्ट पारे।
सांसद मोदीले कर्मचारीको तलब कम हुँदा भ्रष्टाचार बढेको दाबी गरे। उनले सरकारले आन्दोलनरत शिक्षकसँग वार्ता र सम्झौता गरेर शिक्षा ऐन ल्याउने कुरा गरे पनि संसद्मा आजसम्म विधेयक नआएको भन्दै आपत्ति जनाए।
मोदीले भने, ‘कम तलबका कारणले भ्रष्टाचार देखिइरहेका कारण तलब बढाउनुपर्छ भन्ने राखेका थियौं त्यो पनि भएन। शिक्षकसँग वार्ता र संवाद गरेर सरकारले सम्झौता पनि गरेको छ। र शिक्षा ऐन ल्याउने कुरा गर्यो तर संसद्मा आजसम्म आएको छैन। यो कहाँ गयो ’
उनले आन्दोलनरत शिक्षकहरूसँग जुन तरिकाले वार्ता र संवाद भएको थियो तदनुरूप कार्यान्वयन गर्नुपर्ने कि नपर्ने भन्दै प्रश्न गरे। थाहा खबर

