प्रधानमन्त्रीसँग उपनिर्वाचनबारे आयोगको परामर्श

सेयर गर्नुहोस

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीसँग निर्वाचन आयोग, नेपालले प्रतिनिधिसभा र प्रदेशसभाको रिक्त दुई स्थान, राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानसहित स्थानीय तहको रिक्त स्थानमा निर्वाचन गर्ने विषयमा परामर्श गरेको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा प्रधानमन्त्री ओलीलाई आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीसहित आयुक्तहरुले भेटेर आगामी कात्तिकको दोस्रो साता प्रतिनिधिसभा र प्रदेशसभाको उपनिर्वाचन गर्न र राष्ट्रिय सभामा आगामी फागुन २० गते रिक्त हुने १८ स्थानका लागि निर्वाचन तय गर्ने विषयमा छलफल गरेको हो।

प्रतिनिधिसभाका सदस्यको रुपन्देही क्षेत्र नं. ३ र गण्डकी प्रदेशसभाको मनाङ क्षेत्र नं. १ (२) को रिक्त सदस्यका लागि कात्तिकको दोस्रो साता निर्वाचन गर्ने गरी नेपाल सरकारको परामर्शमा यही असार १६ गतेभित्र आयोगले मिति तोक्ने तयारी गरेको छ।

यसैगरी स्थानीय तहमा १३ वटा वडाध्यक्षको पद रिक्त रहेको आयोगले अवगत गराएको छ।

प्रधानमन्त्री ओलीले निर्वाचनका लागि आयोगले गरेको तयारी अनुसार आवश्यक सहजीकरणका लागि नेपाल सरकारका तर्फबाट सहयोग हुने विश्वास दिलाए । उनले संवत् २०८४ को निर्वाचनका लागि गर्नुपर्ने तयारी पनि गर्दै गर्न आयोगलाई सुझाव दिए। भेटका अवसरमा आयुक्तहरु डा जानकीकुमारी तुलाधार र सगुनशमशेर जबरा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उच्चाधिकारीलगायत सहभागी थिए। थाहा खबर

Facebook Comments Box