२७ वर्षपछि ‘चोकर्स’ को ट्यागबाट जोगियो दक्षिण अफ्रिका

सेयर गर्नुहोस

काठमाडौं : दक्षिण अफ्रिकाले शनिबार अस्ट्रेलियालाई पाँच विकेटले हराएर विश्व टेस्ट च्याम्पियनसिपको उपाधि जितेको छ।

दक्षिण अफ्रिकाले २७ वर्षमा पहिलो पटक प्रमुख उपाधि हासिल गरेको हो। यसअघि एकदिवसीय, टी–२० विश्वकप जस्ता प्रमुख प्रतियोगितामा सधैँ राम्रो खेलेर पनि प्रमुख खेलमा हार्ने नियति लगातार बेहोरेपछि दक्षिण अफ्रिकामाथि ‘चोकर्स’ को ‘ट्याग’ लागेको थियो।

एलन डोनाल्ड, सन पोलक, एबी डिभिलियर्स र ज्याक कालिस जस्ता क्रिकेटका हस्तीहरू भए पनि दक्षिण अफ्रिकाले प्रमुख उपाधि जित्न नसक्नु विश्व क्रिकेटकै लागि अचम्मको कुरा थियो।

यस पटक स्टार खेलाडीबिना पनि दक्षिण अफ्रिकाले व्रिmकेटकै सबभन्दा कठिन संरचना विश्व टेस्ट क्रिकेट उपाधि जितेको छ। दक्षिण अफ्रिकालाई बहुप्रतीक्षित उपाधि जित्न चौथो दिन मात्र ६९ रनको आवश्यकता रहेको थियो।

चौथो दिन दुई विकेटको क्षतिमा २१३ रनबाट खेल्न सुरु गरेको दक्षिण अफ्रिकाले पाँच विकेटको क्षतिमा २८२ रन बनाएर लक्ष्य हासिल गर्‍यो। इङ्ग्ल्यान्डको लर्ड्समा १४१ वर्षको टेस्ट इतिहासमा यति धेरै रन पछ्याएको यो मात्र दोस्रो पटक हो। अस्ट्रेलियाले सजिलै दक्षिण अफ्रिकालाई खेल जित्न भने दिएन।

अस्ट्रेलियाली बलरले चौथो दिन लगातार सटिक लाइन एन्ड लेन्थमा बलिङ गरेपछि दक्षिण अफ्रिकी ब्याट्सम्यानलाई रन बनाउन सङ्घर्ष गर्नु परेको थियो तर प्रारम्भिक ब्याट्सम्यान एडन माक्रमले अविजित १३६ रनको पालि खेलेपछि अस्ट्रेलिया खेलमा फर्किन सकेन।

दक्षिण अफ्रिकाले चौथो दिन पहिलो सत्रअघि नै जित हात पार्‍यो। माक्रमले १०२ रनबाट खेल्न सुरु गरेका थिए। दक्षिण अफ्रिकाका कप्तान टेम्बा बाभुमा मांसपेशिमा खिचाब उत्पन्न भएर पनि तेस्रो दिन अविजित ६५ रनको पालि खेले। उनी चौथो दिन एक रन थपेर आउट भए।

अस्ट्रेलियाका कप्तान प्याट कमिन्सले बाभुमालाई विकेटपछाडि क्याच आउट गरेर चौथो दिनको खेल रोमाञ्चक बनाएका थिए। त्यसपछि अर्का तेज बलर मिचेल स्र्टाकले ट्रिस्टन स्टब्सलाई आठ रनमा आउट गरेपछि अस्ट्रेलियाको पनि आशा बढेको थियो तर माक्रमले आफ्नो खेल जीवनकै सम्झनलायक पालि खेलेपछि दक्षिण अफ्रिकाले इतिहास बनायो।

दक्षिण अफ्रिकाले इतिहास बनाउनुमा तेज बलर कागिसो रबाडाको पनि महत्वपूर्ण भूमिका रह्यो। उनले सो खेलमा कुल नौ विकेट लिएका थिए। दक्षिण अफ्रिकाले पहिलो पालिमा पछाडि परेर पनि खेल जितेको हो। अस्ट्रेलियाले पहिले ब्याटिङ गर्दै २१२ रन बनाएको थियो। दक्षिण अफ्रिका जवाफमा १३८ रनमै अलआउट भएको थियो।

अस्ट्रेलियाले दोस्रो पालिमा २०७ रन बनाएपछि दक्षिण अफ्रिकाले विश्व टेस्ट च्याम्पियन बन्न २८२ रन बनाउनुपर्ने कठिन लक्ष्य पाएको थियो। थाहा खबर

Facebook Comments Box