कांग्रेस जस्तो मध्यमार्गी पार्टी कमजोर भए देश अराजकतातिर जान्छ :
शेखर कोइराला
काठमाडौं : नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले मध्यमार्गी पार्टी कमजोर बने देश अराजकतातिर जाने बताएका छन्। कांग्रेस सिन्धुली काठमाडौं सम्पर्क समितिको प्रथम सम्मेलनलाई सम्बोधन गर्दै उनले कांग्रेस मध्यमार्गी पार्टी भएको भन्दै कमजोर हुन नहुनेमा जोड दिएका हुन्।
नेता कोइरालाले देश अत्यन्तै अप्ठ्यारो परिस्थितिमा रहेको भन्दै अराजकता कांग्रेसले मात्रै रोक्न सक्ने बताए। ‘हामी दक्षिणपन्थी पनि होइन र वामपन्थी पनि होइन। उग्र वामपन्थीको त कुरै भएन’, उनले भने, ‘कांग्रेस एउटा मध्यमार्गी पार्टी हो। कुनै पनि देशमा मध्यमार्गी पार्टी कमजोर भयो भने देश अराजकतातिर जान्छ। त्यो बुझ्नुपर्छ। त्यो अराजकता रोक्न कांग्रेसले मात्रै सक्छ।’
कोइरालाले सरकार र सत्ता बेग्लाबेग्लै कुरा भएको भन्दै सरकारमा भए पनि सत्ताको चाबी कांग्रेससँग नभएको बताए। भोलिका प्रमुख प्रतिस्पर्धी एमालेसँग रहेका गलतलाई गलत नै भन्न सक्नुपर्ने बताए।
‘साथीहरूले भन्नुहुन्छ, किन तिमी यसरी बोल्छौँ। हाम्रो भोलिको प्रतिस्पर्धी एमाले हो। उसले गलत काम गरेको छ भने गलतलाई गलत र सहीलाई सही भन्न सकौँ’, उनले थपे, ‘नेपाली कांग्रेसका कार्यकर्ताहरूले गलतलाई गलत भन्न सकेनन् भने ती कार्यकर्ता कांग्रेसका कार्यकर्ता हुँदै हुँदैन।’

