मुलुक बाहिर जाने प्रवृत्ति घटाउनुपर्छ : राष्ट्रपति पौडेल
काठमाडौँ : राष्ट्रपति रामचन्द्र पौडेलले मुलुक बाहिर जाने प्रवृत्ति घटाउन रोजगार बजारअनुसारको जनशक्ति विकास गर्नुपर्ने बताएका छन्।
शुक्रवार काठमाडौँमा नेपाल आदर्श माविको ७५ औं वर्ष हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले स्वदेशमा उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपयुक्त र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पनि पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी रहेको बताए।
उनले विद्यालय तहदेखि नै हामीले हाम्रा बालबालिकालाई आधुनिक समयको मागअनुसारको पाठ्यक्रम, प्रविधि र जनशक्ति उपयोग गरी गुणस्तरीय शिक्षा दिनेतर्फ विशेष ध्यान दिनुपर्ने बताए।
गुणस्तरीय प्राविधिक र प्रतिस्पर्धाको पक्षलाई ध्यान दिई भविष्यमा योग्य र क्षमतावान व्यक्तिका रूपमा उभिन सक्ने गरी शिक्षा प्रदान गर्नेतर्फ सरकार र शिक्षाको क्षेत्रमा कार्यरत दुवै पक्षले उत्तिकै ध्यान दिन जरुरी रहेको राष्ट्रपति पौडेलको भनाइ छ।
राष्ट्रपति पौडेलले भने, ‘अध्ययनका लागि मुलुक बाहिर जाने प्रवृत्तिमा कमी ल्याउन रोजगार बजारअनुसारको जनशक्तिको विकास गर्न जोड दिनु आजको आवश्यकता हो। स्वदेशमा उत्पादन र रोजगारी बढाउने, श्रम गर्ने संस्कृतिको सम्मानसहित सीपयुक्त र शीलवान नागरिक तयार गरी राष्ट्रिय एकतालाई सुदृढ बनाउनेतर्फ पनि पाठ्यक्रम र पठनपाठन केन्द्रित हुन जरुरी छ।’
राष्ट्रपति पौडेलले ज्ञान, चेतना, जागरण र रूपान्तरणमा शिक्षाको भूमिका महत्त्वपूर्ण हुने बताए। सभ्य र सुसंस्कृति आधुनिक समाज निर्माणमा मात्र नभई राष्ट्रको समग्र विकासको जग र आधार नै शिक्षा भएको बताए। थाहा खबर

