गणतन्त्रवादीलाई जनहितमा लाग्न पूर्वराष्ट्रपति यादवको सुझाव

सेयर गर्नुहोस

भक्तपुर : गणतन्त्र नेपालका पहिलो राष्ट्रपति डा. रामवरण यादवले गणतन्त्रवादी आम जनताको हितमा अझ दत्तचित्त भएर लाग्नुपर्ने सुझाव दिएका छन्।

भक्तपुर दरबारक्षेत्र परिसरमा सोमबार राति सम्पन्न ‘म नागरिक म बनाउँछु नेपाल’ कार्यक्रममा उनले ​नेपालमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको दिनलाई जनता स्वतन्त्र नागरिक भएको दिनको रूपमा लिनुपर्ने बताएका छन्।

पूर्वराष्ट्रपति डा. यादवले चुरे पहाड दोहनले नेपालको तराई मरुभूमिमा परिणत भएको उल्लेख गर्दै यसलाई समयमै रोक्न नसके चुरे क्षेत्र थप कमजोर बन्न गई तराई मधेशको जनजीवन अझै सङ्कटग्रस्त हुने बताए। युवाहरूको विचार र सिर्जनशीलतालाई सम्मान गर्न आयोजित यस्ता कार्यक्रमले देशका युवालाई आफ्नै देशमा केही गर्छु भन्ने सन्देश दिने उनले बताए।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले नेपाल विदेशीले होइन हामी नेपाली आफैले बनाउनुपर्ने बताए। देश बनाउन सबै युवा जुट्नुपर्ने उनको भनाइ थियो। आर्थिक रूपमा स्वतन्त्र नभएको देश राजनीतिक रूपमा पनि स्वतन्त्र नहुने उल्लेख गर्दै पूर्वराष्ट्रपति डा. यादवले युवासँग भएका ज्ञान, सीप तथा विशेषज्ञता देश र समाजका लागि प्रयोग गर्न प्रेरित गर्नुपर्ने औँल्याए।

​हरेक नागरिकले आफ्नो ठाउँ आफैँ बनाउने प्रण गरे देशको छिट्टै विकास हुन्छ भन्दै प्रमुख प्रजापतिले उपत्यकाका सांस्कृतिक एवम् ऐतिहासिक सम्पदा संरक्षण संघ, प्रदेश र स्थानीय सरकारको संयुक्त प्रयासले मात्र सम्भव हुने बताए। कार्यक्रममा विभिन्न सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएका थिए। ‘म नागरिक म बनाउँछु नेपाल’ अन्तर्गत सन्देशमूलक श्रव्यदृश्य सामग्री निर्माण गर्ने मध्ये प्रथम, द्वितीय र तृतीय हुनेलाई पूर्वराष्ट्रपति डा यादवले पुरस्कार दिए। थाहा खबर

Facebook Comments Box