भौतिकमन्त्रीको चेतावनी : सवारी नचलाउनु गलत हो, जिम्मेवार हुनुस्
काठमाडौँ : भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले यातायात व्यवसायीहरूले सार्वजनिक यातायात नचलाउनु गलत भएको चेतावनी दिएका छन्।
सोमवार राति सरकार र यातायात व्यवसायीहरूबीच भएको सहमतिअनुसार यातायात व्यवसायीले यातायात सञ्चालन गर्नुपर्ने भए पनि हालसम्म सञ्चालन नभएको भन्दै यो गलत भएको चेतावनी दिएका हुन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाट गण्डकी प्रदेशलाई पत्र गएपछि मात्रै यातायात सञ्चालन हुन्छ भन्ने जस्ता तर्क यातायात व्यवसायीले गरिरहेकाले त्यो गलत भएको बताए।
सवारी ऐन २०४९ को परिच्छेद २ को दफा ८ को २ र दफा १२ को १ विपरीत हुने गरी संघीय ऐनसँग बाझिने सातै प्रदेश सरकारले ल्याउने तयारी गरेको र गण्डकी प्रदेश सरकारले मिति २०८२ जेठ १ गते राजपत्रमा प्रकाशित गरी निजी सवारीसाधन (रातो प्लेट) सञ्चालन गर्न ल्याएको नियमावली २०८२ दफा २ को (ज) तत्काल खारेजीको माग गर्दै उनीहरूले आन्दोलन गर्दै आएका छन्।
उनले प्रदेशको अधिकारको हनन हुने खालको सम्झौता केन्द्र सरकारले नगरेको स्पष्ट पार्दै केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक अन्तिम अवस्थामा पुर्याएकाले बाँकी कुरा विधेयकमार्फत सम्बोधन हुने बताए। जिम्मेवार भएर सहमतिअनुसार यातायात सञ्चालन गर्न आग्रह गरे।
मन्त्री दाहालले भने, ‘राइड शेयरिङको कुरा छ। यसलाई कसरी अघि बढाउने, काम त भइरहेको छ। काम भइरहेको छ, जनताले सुविधा पनि पाइरहेका छन्। यातायात बन्द गर्नु ठिक छैन। यातायातको क्षेत्रमा निजी क्षेत्रले मात्रै सञ्चालन गरेको छ। यो कुरामा जिम्मेवार भएर बढ्नुपर्छ। बन्दै गर्ने र जनतालाई दुःख दिने काम उहाँहरूले गर्नु हुँदैन।’
मन्त्री दाहालले यातायात व्यवसायीले बन्द गरिरहेको यातायात सञ्चालन गर्नुपर्ने बताए। केही सवारी तथा सार्वजनिक यातायात सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकबाट राइड शेयरिङलाई पनि राज्यको दायराभित्र ल्याउने बताए। थाहा खबर
