९ दिने चीन भ्रमण सकेर स्वदेश फर्किँदै पूर्वराष्ट्रपति भण्डारी
काठमाडौं : ९ दिने चीन भ्रमण सकेर पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी आज स्वदेश फर्कंदै हुनुहुन्छ ।
उहाँ छेन्दु हुँदै बिहान साढे १० बजे त्रिभूवन अर्न्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्ने भण्डारीको सचिवालयले जनाएको छ।
एमाले पूर्वउपाध्यक्ष समेत रहनुभएकी भण्डारी पार्टीको समेत प्रतिनिधित्व गर्दै जेठ १० गते चीन प्रस्थान गर्नुभएको थियो। त्यहाँ रहँदा भण्डारीले उच्चस्तरीय भेटवार्ता गर्नुभएको थियो। शनिबार भण्डारीले गान्सु प्रदेशमा चिनियाँ उपराष्ट्रपति हान चेङसँग भेटवार्ता गर्नुभएको थियो।
चेङ चीन सरकारको दोस्रो बरियता र चिनियाँ कम्युनिष्ट पार्टीको आठौं बरियताका नेता हुनुहुन्छ। त्यसअघि चिनियाँ कम्युनिस्ट पार्टीका विदेश विभाग प्रमुख लिउ जियानचाओसँग भेटवार्ता गर्नुभएको थियो।
राष्ट्रपति सी चिनफिङसँग समेत भेटको तयारी भए पनि सफल हुन सकेन। हरेक भेटवार्ता र सम्बोधनमा उहाँले एमाले नेताको हैसियतमा आफूलाई प्रस्तुत गर्नुभएको थियो।
चिनियाँ पक्षले पनि कम्युनिस्ट शक्तिहरुलाई मिलाएर अघि बढ्न र नेपालको नेतृत्व गर्न भण्डारीलाई सुझाव दिएका छन्।
भ्रमण दलका नेताहरुले चीन यात्रा सफल भएको र दुई देशबीचको सम्बन्धमा नयाँ आयाम थपेको दाबी गरेका छन्। थाहा खबर
