सडक शिलान्यास गर्न प्रधानमन्त्री भोलि जनकपुर आउने

सेयर गर्नुहोस

जनकपुरधाम : सडक शिलान्यास गर्न प्रधानमन्त्री केपी शर्मा ओली भोलि जनकपुरधाम आउँदै छन्।

प्रधानमन्त्री ओलीले मधेश प्रदेशमा १२ अर्ब ७० करोडको लागतमा निर्माण हुने पक्की सडकको जनकपुरधाममा जेठ १८ गते शिलान्यास गर्ने कार्यक्रम छ। भौतिक पूर्वाधार विकास मन्त्रालयले शनिबार जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

मधेश सरकारको ६४ निर्वाचन क्षेत्रमा दोस्रो चरण अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा पाँच किलोमिटर कालोपत्रे सडक निर्माण गरिनेछ।

मधेश प्रदेशका ८ वटा जिल्लाका प्रत्येक प्रदेशसभा निर्वाचन क्षेत्रमा ५ किलोमिटरको दरले ३२० किलोमिटर नयाँ कालोपत्रे सडक निर्माण हुने पत्रकार सम्मेलनमा मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री सरोज यादवले यादवले बताए।

सडक शिलान्यास प्रधानमन्त्री ओलीले जनकपुरधामको महेन्द्रनारायण निधि मिथिला सांस्कृतिक केन्द्रमा भोलि दिउँसो १ बजे डिजिटल प्रविधिमार्फत गर्नेछन्।

उनले प्रधानमन्त्रीले शिलान्यास गर्ने सडकको निर्माण ३वर्षमा पूरा गरिने मधेश प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री यादवले जानकारी दिए।

मन्त्री यादवले सडक बनाउन स्रोतको सुनिश्चितता भएर निर्माण प्रक्रिया अगाडि भएपछि शिलान्यास गरिन लागेको र सडकको ठेक्का प्रक्रिया सम्बन्धित जिल्लाका पूर्वाधार कार्यालयमा भइसकेको बताए।

पहिलो चरणअन्तर्गत ६४ निर्वाचन क्षेत्रमा ३२० किलोमिटर सडक निर्माण अघि बढाएकोमा त्यसमध्ये २ सय किलोमिटर सडक बनिसकेको मन्त्रालयका निमित्त सचिव सञ्जयकुमार साहले बताए।

शिलान्यास हुने सडकमध्ये गाउँक्षेत्रमा फरक र सुहाउँदो प्रविधि तथा गाउँ बाहिर स्फाल्ट प्रविधिको कालोपत्रे गरिने भएको मन्त्रालयले जनाएको छ।

सडकको चौडाइ साढे पाँचदेखि ७ मिटरसम्मको हुने मधेश प्रदेशका भौतिक पूर्वाधार मन्त्रालयले जनाएको छ।

त्यसैगरी मन्त्रालयले विश्व बैंकको सहयोगमा प्रादेशिक तथा स्थानीय सडक सुधार कार्यक्रमअन्तर्गत १९८ किमि कालोपत्रे सडक निर्माण, ३२६ किमि बृहत् सडक मर्मत र एक हजार किमि सडकको नियमित मर्मत सम्भार हुने पनि जनाएको छ।

प्रादेशिक सडक सञ्जाल गुरुयोजनाअन्तर्गत एक निर्वाचन क्षेत्र एक सडक कार्यक्रमको दोस्रो चरणअन्तर्गतको यो विकास आयोजना सुरु हुन लागेको मन्त्री यादवले बताए। थाहा खबर

Facebook Comments Box