लघुकथा- फुटपाथ
रामप्रसाद धिताल
‘सडकपेटीका खुद्रा पसलले गर्दा साँझबिहान पैदल यात्रुलाई हिँड्न सास्ती भयो। उनीहरूले गर्नेे फोहरका कारण प्रदूषण बढ्यो’ नगरपालिकाले सूचना निकाल्यो, ‘अबदेखि सडकपेटीमा पसल थाप्न पाइने छैन। हट्न एक हप्ताको समय दिनेछौँ। ’
छिमेकी महानगरमा व्यापारीलाई नगरप्रहरीले गरेको व्यवहार सम्झना भयो उनीहरूलाई। सूचना पालना गर्दै केही अर्को सातादेखि आएनन् ।
केहीले माननेन्। जीविकाको सवाल थियो। वर्षौदेखि बसिरहेको ठाउँ, गरिरहेको काम छाडेर अन्त कहाँ जाने?
सकेसम्म अटेर गर्ने मनस्थितिमा थिए। नगरप्रहरीको अगाडि के लाग्थ्यो। दुई दिनमै हटाइए।
उनीहरू बाटो लागेपछि नगरपालिकाले सिमेण्टका रंगीचंगी ‘ब्लक’ छापेर सडकपेटी चिटिक्क बनायो।
यो सडकपेटी अचेल हरेक दिन साँझपख चिल्ला र महँगा चारपाङ्ग्रे तथा दुइपाङ्ग्रे सवारीसाधनले भरिएको हुन्छ। सामुन्ने रहेका होटल, रेष्टुरेण्ट र बारमा आएका ग्राहकले ‘पार्किङ’ का लागि उपयुक्त ठाउँ पाएका छन्।
