बुढी गण्डकी आयोजनाको ओली सरकारले घाँटी छनाल्यो : बाबुराम
काठमाडौं : नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय गौरवको आयोजनाका रूपमा चिनिने बूढीगण्डकी जलविद्युत आयोजनाको वर्तमान सरकारले ‘हत्या’ गरेको आरोप लगाएका छन्। पूर्वप्रधानमन्त्री समेत रहेका उनले आर्थिक वर्ष २०८२÷८३ को बजेटमा गरिएको व्यवस्थाले उक्त आयोजनाको पूरै घाँटी छिनालिएको टिप्पणी गरेका हुन्।
शनिबार बिहान फेसबुकमार्फत भट्टराईले तत्कालीन प्रचण्ड सरकारद्वारा तरवार चलाएर घाँटी रेट्न शुरू गरिएको र अहिलेको ओली सरकारले छिनालेको आरोप लगाएका हुन्। बजेटको बुँदा २२४ लाई उद्धृत गर्दै उनले उक्त आयोजना अब ‘सार्वजनिक निजी साझेदारी (पीपीपी)’ मा निर्माण गरिने घोषणा गरिएकोप्रति कडा आपत्ति जनाएका छन्।
‘अन्ततः राष्ट्रिय गौरवको बूढीगण्डकी जलाशययुक्त जलविद्युत आयोजनाको हत्या भएको छ,’ उनले भनेका छन्, ‘२०७४ जेठमा तत्कालीन प्रचण्ड सरकारद्वारा तरबार चलाएर घाँटी रेट्न सुरू गरिएको यो राष्ट्रिय सपनाको आयोजनालाई अहिले ओली सरकारले पूरै घाँटी छिनालेको छ।’
आयोजनालाई देशको बहुआयामिक आर्थिक रूपान्तरणका लागि ‘गेमचेन्जर’ आयोजनाको रूपमा चित्रण गर्दै भट्टराईले बजेटमा उक्त आयोजनाबारे गरिएको व्यवस्थाको भर्त्सना गरेका छन्। ‘यो देश र जनतामाथि अक्षम्य अपराध र धोका हो,’ उनले लेखेका छन्, ‘म यो सरासर बदनियतपूर्ण, जनविरोधी र राष्ट्रघाती निर्णयको घोर भर्त्सना र विरोध गर्दछु।’
भट्टराईले उक्त योजनाको परिकल्पनाकारको रूपमा प्रभावित क्षेत्रका जनतासँगै सबै सचेत नागरिकहरूलाई यस ‘राष्ट्रिय विश्वासघात र अपराधपूर्ण निर्णय’ को सशक्त प्रतिवाद गर्न अपिल गरेका छन्।’
यसअघि भट्टराई नेतृत्वको तत्कालीन सरकारले बूढीगण्डकीलाई जलाशययुक्त ठूला आयोजनाको मोडलमा अघि बढाउने नीति ल्याएको थियो। तर विगत केही वर्षयता आयोजनाको मोडालिटीबारे असमझदारी, विवाद र राजनीतिक हस्तक्षेपका कारण यसले गति लिन सकेको छैन। थाहा खबर
