नेपसाबाट आएकाहरूलाई माओवादीले दियाे जिम्मेवारी
काठमाडौं : नेकपा माओवादी केन्द्रले पार्टी एकता गरेर आएकाे गंगानारायण श्रेष्ठ नेतृत्वको नेपाल समाजवादी पार्टीका नेताहरूलाई जिम्मेवारी दिएकाे छ। शुक्रबार पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निवास खुमलटारमा बसेकाे पदाधिकारी बैठकले नेसपाबाट आएका १५ नेताहरूलाई केन्द्रीय सदस्य बनाउने निर्णय गरेको पार्टी उपमहासचिव मात्रिकाप्रसाद यादवले थाहाखबरलाई जानकारी दिए।
बैठकले अरु २० जना जति नेतालाई वैकल्पिक केन्द्रीय सदस्य बनाउने निर्णय पनि गरेकाे छ। जेठ १२ गते श्रेष्ठ नेतृत्वको नेसपा समूह माओवादीमा आएको थियो। नेसपाका सह–अध्यक्ष रहेका उनलाई माओवादीले सचिवको जिम्मेवारी दिइसकेकाे छ।
यस्तै माओवादी केन्द्रले दोस्रो चरणकाे मध्यपहाडी लोकमार्ग केन्द्रित अभियान जेठ २१ गतेदेखि फेरि निरन्तरता दिने निर्णय गरेको छ। दोस्रो चरणको अभियान लमजुङबाट सुरु भएर जेठ २५ गते सिन्धुलीमा टुंगिनेछ। यसअघि जेठ २ गतेबाट सुरु भएको अभियान पोखरामा आएर टुंगिएको थियो। थाहा खबर
