प्रतिनिधिसभा ब्युँतिएपछि संसदमा ‘गायब’ प्रधानमन्त्री

काठमाडौं ।प्रधानमन्त्री केपी शर्मा ओली प्रतिनिधिसभाको बैठकमा लगातार अनुपस्थित भएका छन्। प्रतिनिधिसभाका पछिल्ला ९ वटा बैठकमा ओली उपस्थित छैनन्।
सर्वोच्च अदालतले उनैले गरेको प्रतिनिधिसभाको विघटन बदर गरिदिएपछि गत फागुन २३ गते प्रतिनिधिसभाको सातौं अधिवेशन प्रारम्भ भएको थियो। उक्त दिन संसद भवनमा पुगे पनि प्रधानमन्त्री ओली बैठक सुरू हुनुअघि नै बाहिरिएका थिए। त्यसपछि पनि प्रतिनिधिसभाका कुनै पनि बैठकमा उनी गएका छैनन्। बरू उनले संसदीय दलको बैठकमै अधिवेशन अन्त्यको तयारी भइरहेको बताएका थिए।
यसबीचमा प्रतिनिधिसभाका हरेक कार्यसूचीमा प्रधानमन्त्रीले पेश गर्नुपर्ने प्रतिवेदन पेश भइराखेका छन्।
सोमबार पनि प्रधानमन्त्रीले पेश गर्नुपर्ने राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन कानून मन्त्रीले प्रतिनिधिसभा बैठकमा पेश गरेका थिए। प्रतिनिधिसभा बैठकमा सांसदहरूले प्रधानमन्त्रीलाई प्रतिनिधिसभा बैठकलाई विजनेशविहीन बनाइरहेको आरोप लगाएका छन्।
नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्रीलाई विकासको कामको गफ प्रधानमन्त्रीले दिएको उल्लेख गर्दै प्रतिनिधिसभा बैठकमै आउन चुनौती दिएका थिए।
त्यसो त प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता शेरबहादुर देउवा पनि धेरै बैठकमा अनुपस्थित छन्।उनी पहिलो बैठकमा उपस्थित भएका थिए। सरकारले ल्याएको अध्यादेशविरूद्ध रोष्टममा नाराबाजीका लागि समेत उनी उभिएका थिए। सेताेपाटी
